वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आइतबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेपछि दोस्रो तहका नेताको भेटघाट र छलफलले तीव्रता पाएको छ । २७ असारमा एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिका आधारमा पार्टी एकता गर्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुले छलफल सुरु गरेका हुन् ।
नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेपालले, ‘ओलीले जतिसुकै गाली गरे पनि आफू एमाले एकताकै पक्षमा रहेको,’ बताएका थिए । संस्थापन पक्षको आइतबार (आज) बस्ने भनिएको केन्द्रीय कमिटी बैठक पनि नेपालकै आग्रहमा स्थगित गरिएको छ ।
हाल विघटित अवस्थामा रहेको एमाले कार्यदलका सदस्यहरु सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल र सुरेन्द्र पाण्डेसहितका नेताहरु रहेका छन्। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले नेपाल पक्षका नेताहरुसँग छलफल भइरहेको बताएका छन्। विघटित कार्यदलका सदस्यहरूबीच आइतवार बिहानैदेखि गोप्य छलफल जारी छ ।
पार्टीमा देखिएका मतभेदलाई चिर्दै एमाले एकताका लागि दोस्रो तहका नेताको सक्रियता रहेको उनले बताए । ‘एमालेको एकताका लागि नेताहरुबीच अनौपचारिक वार्ता भइरहेको छु, उनले भने, ‘भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष आउनुहुनेछ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij