Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

  • 43
    SHARES
  • भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

    काठमाडौंँबाट सर्लाहीको चक्रघट्रटा गाउँपालिकाकाे सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबरले आफूलाई स्तब्ध र अत्यन्तै मर्माहत बनाएको थापाले बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा शोकसन्तप्‍त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

    थापाले अकल्पनीय दुर्घटनामा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

    उनले दुर्घटनाबाट प्रभावित परिवारजनले भोग्नुपरेको पीडाप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारलाई यो असह्‍य पीडा सहन सक्ने शक्ति प्राप्त होस् भनी कामना गरेका छन् ।

    बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानी गढीमा सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ । अन्य मृतकको पहिचान खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।

    छठ पर्व मनाउन घर फर्किरहेका यात्रुहरू दुर्घटनामा परेपछि घटनाले सर्लाहीसहित विभिन्न क्षेत्रमा शोक छाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij