Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मंगलबारलाई अशुभ मान्नु भ्रम मात्रै : ज्योतिषाचार्य निरौला

मंगलबारलाई अशुभ मान्नु भ्रम मात्रै : ज्योतिषाचार्य निरौला

  • 41
    SHARES
  • मंगलबारलाई अशुभ मान्नु भ्रम मात्रै : ज्योतिषाचार्य निरौला

    काठमाडौं । मानिसको सफलता र असफलता बार वा तिथिको फेरले होइन, उसको आफ्नै कर्म र सत्संकल्पले निर्धारण गर्दछ । तसर्थ मंगलबारलाई अशुभ मानेर अवसर गुमाउनुको सट्टा आफ्नै मेहनत र कर्ममा विश्वास गर्नु नै जीवनको खास सफलता हो । हाम्रो नेपाली समाजमा अझैंपनि बार, तिथि र साइतलाई लिएर विभिन्न प्रकारका भ्रम, शंका र डर विद्यमान छन ।

    विशेष गरी मंगलबारको दिन कुनै पनि नयाँ काम थाल्नुपर्दा, यात्रा गर्नुपर्दा वा महिनाको संक्रान्ति पर्दा धेरैले यसलाई अशुभ, अनिष्ट वा संकटको संकेतका रूपमा लिने गरेका छन । समाजका केही मानिसहरू वा वृद्धवृद्धाहरू मंगलबार महिना लाग्दा वा परेको दिन कुनै नराम्रो घटना घट्ने हो कि भनी अनावश्यक रूपमा त्रसित हुने गरेको पाइन्छ । तर, ज्योतिषीय, तार्किक र यथार्थवादी दृष्टिकोणले मंगलबारलाई पूर्ण रूपमा अशुभ वा डरलाग्दो मान्नु पूर्णतया गलत र निराधार हो ।

    प्रसिद्ध ज्योतिषाचार्य नारायण प्रसाद निरौलाका अनुसार मंगल ग्रह आफैँमा कुनै अशुभ नभई एक शुभकारक ग्रह हो । कुनै महिनाको संक्रान्ति मंगलबार पर्दैमा वा मंगलबारकै कारणले मात्र सिंगो महिनाभरि ठूला दुर्घटना वा विध्वंस हुन्छ भनी डराउनु वा शंका गर्नु कुनै पनि तरिकाले उचित होइन । एउटा मात्र पक्ष वा बारलाई आधार बनाएर कुनै पनि समय वा दिनलाई नराम्रो भनी फलादेश गर्नु ज्योतिषीको नियम विपरीत हुन्छ । जीवनका घटना, सफलता र असफलतालाई एउटा बारले मात्र निर्धारण गर्दैन यसमा नक्षत्र, ग्रहको गोचर, जन्मकुण्डलीका विभिन्न स्थितिहरू र व्यक्तिको आफ्नै कर्म जस्ता अनेकौँ पक्षहरूको प्रभाव रहेको हुन्छ ।

    ‘मंगल ग्रहको स्वभाव केही खरो हुने र अग्नि तत्व बढी सक्रिय रहने भएपनि यसबाट तर्सिनुपर्ने वा यात्रा तथा शुभकार्य नै पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था हुँदैन,‘ निरौलाले भने ‘यात्राको लागि मंगलबारलाई अशुभ मान्ने लोकधारणा हाम्रो समाजमा प्रचलित भएपनि यसमा कुनै वैज्ञानिक वा ज्योतिषीय सत्यता भेटिँदैन । काम राम्रो वा नराम्रो हुने भन्ने कुरा बार वा तिथिको कारणले भन्दा पनि मानिसको आफ्नै कर्म, सोच र पूर्वतयारीमा निर्भर गर्दछ ।’ तसर्थ, मंगलबार वा कुनै पनि बार विशेषलाई लिएर समाजमा फैलिएका भ्रमित कुराहरूमा विश्वास गर्नुको सट्टा आफ्नो विवेक र सत्कर्ममा भरोसा राख्नु नै बुद्धिमानी हुन्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij