वेबटिभी खबर
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास-आईटी) ले आगामी मंसिर ५ र ६ गते ‘आकाशटेल नास-आईटी एक्सपो २०२६’ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नास-आईटीका अध्यक्ष दिपेन चापागाईंले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना हुने दुईदिने एक्सपोमा ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने जानकारी दिए ।
यस वर्षको एक्सपोमा स्टार्टअप प्याभिलियन र दुईवटा विषयगत प्यानल छलफल थप गरिएको आयोजकले जनाएको छ । एक्सपोले नेपाली प्रविधि कम्पनीलाई बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ । विद्यार्थी तथा युवा पेसाकर्मीलाई नेपालमै प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी दिने उद्देश्यसमेत एक्सपोको छ । चापागाईंले नेपाली सूचना प्रविधि क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने सम्भावना रहेको बताए । नेपाली कम्पनीले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेको उल्लेख गर्दै उनले ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउन एक्सपोले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, नास-आईटीकी महासचिव श्रेया श्रेष्ठले एक्सपो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसरसमेत भएको बताइन् । एक्सपोमा खरिदकर्ता, स्टार्टअप र विद्यार्थीले आफ्ना लागि उपयोगी अवसर पहिचान गर्न सक्ने उनको भनाइ छ । एक्सपोमा साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास क्षेत्रमा काम गर्ने कम्पनी सहभागी हुनेछन् । यस वर्ष युरोपेली संघ (ईयू) को सहयोगमा नयाँ तथा प्रारम्भिक चरणका कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियन पनि राखिनेछ । त्यसमा स्टार्टअपहरूले आफ्ना नवीन विचार, उत्पादन र प्रविधिमा आधारित समाधान प्रस्तुत गर्न पाउनेछन् ।
एक्सपोको पहिलो दिन कूटनीतिक प्रतिनिधिहरूको सहभागितामा ‘नेपालदेखि विश्वसम्म’ विषयमा छलफल हुनेछ । दोस्रो दिन ‘नेपालको आन्तरिक प्रविधि बजार निर्माण’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ । दुवै दिन हुने पिच सत्रमा प्रविधि कम्पनी तथा स्टार्टअपहरूले आफ्ना उत्पादन, सेवा र समाधान प्रस्तुत गर्नेछन् । नोभेम्बर २०२५ मा आयोजित पहिलो नास-आईटी एक्सपोमा २ हजार ५०० भन्दा बढी आगन्तुक र ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका थिए । पहिलो संस्करणको अनुभवलाई निरन्तरता दिँदै यस वर्षको एक्सपो थप प्रभावकारी र व्यावसायिक सहकार्य केन्द्रित बनाउने आयोजकको अपेक्षा छ । यस वर्षको एक्सपोको शीर्ष प्रायोजक आकाशटेल रहेको छ । सिल्भर प्रायोजकमा अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्टर एई-ए प्रिक्सा कम्पनी रहेका छन् । डिसहोम इन्टरनेट साझेदार तथा किंग्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा जोडिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij