वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतो कार्यकर्ता भेलाका लागि आइतबार गृहजिल्ला सर्लाही पुग्दा उनलाई वर्षौंदेखि सहयोग गर्दै आएका उनीनिकट राजनीतिक सहयात्री भने अनुपस्थित थिए ।
महतोलाई लामो समयदेखि साथ दिँदै आएका नेता नै कार्यक्रममा देखिएनन् । राजनीतिमा लगातार सफलता हासिल गर्दै आएका महतोका लागि पहिलो पटक गृह जिल्लामा यति अप्रिय अवस्थाको सामना गर्नुपर्यो ।
प्रतिनिधिसभा विघटन गरेपछि जसपाको एउटा समूह आन्दोलनमा जाँदा महतो भने केपी शर्मा ओलीको समर्थनमा देखिए । संसद विघटनको पक्ष र विपक्षमा जसपा विभाजित भएर दुईवटा समूह बन्यो ।
प्रतिनिधिसभा विघटनजस्तो 'प्रतिगमन' को पक्षमा लागेको भन्दै महतोको विपक्षमा माहौल तयार भएको उनीनिकट नेताहरु नै बताउँछन् । महताेनजिक भनिएका मुख्य नेताहरु नै कार्यकर्ता भेलामा सहभागी नहुनुले त्यो पुष्टि भएको छ । साविक सद्भावना पार्टी हुँदादेखि उनीसँग साथमा रहेका नेताहरुले महतोको साथ छाडेका छन् ।
महतो नेतृत्वको सद्भावना पार्टी हुँदा लामो समय जिल्ला अध्यक्ष रहेका सांसद प्रमोद साहले उनको साथ छाडेपछि जिल्लामा त्यसको ठूलो नकारात्मक प्रभाव परेको छ । साह महतोको खेमा छाडेर उपेन्द्र यादवतर्फ गइसकेका छन् । महतोनजिक रहेर काम गरेका र हाल जिल्ला समन्वय समिति सर्लाहीका संयोजक मैथुर चौधरी पनि कार्यक्रममा सहभागी छैनन् ।
प्रतिनिधिसभा विघटन गरेर 'प्रतिगमन' को बाटोमा हिँडेका केपी शर्मा ओलीलाई सहयोग गरेकै कारण अहिले महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा जनता नभएको सर्लाहीका एक नेताले भने ।
‘हामी उहाँहरुकै कार्यकर्ता थियौं,’ कार्यकर्ता भेला राखेपछि त्यहाँ सहभागी नहुने उदेश्यले आइतबार काठमाडौं पुगेका एक नेताले भने, ‘प्रतिगमन कै मतियार बनेपछि उहाँहरुसँग अहिले जनता छैनन् । आफ्नो पदका लागि जनभावना विपरित ओली सरकारलाई समर्थन गरेपछि उहाँहरु कार्यकर्ता विहिन अवस्थामा पुग्नु भएको छ । उहाँहरुको कार्यक्रममा बस्नु नपरोस भनेर म काठमाडौं आइपुगें ।’
कार्यकर्ता भेलामा सहभागीता देखाउन घर-घर पुगेर आउन आग्रह गरेको ती नेताको भनाइ छ । गृहजिल्लामै कार्यकर्ता नजुटेर लाजमर्दो अवस्था हुने भएपछि घर-घर पुगेर माफी माग्दै मान्छे जम्मा गर्ने काम भएको उनले बताए ।
‘ओलीलाई समर्थन गरेकै कारण उहाँहरुको यस्तो अवस्था भएको हो,’ महतोनिकट एक नेताले भने, ‘मधेसलाई हेप्यो भनेर ओलीविरुद्ध आन्दोलन गर्न लगाएर आफूले उपप्रधानमन्त्री पाउने भएपछि ओलीकै समर्थन गर्ने उहाँहरुको कदमलाई कसैले पनि राम्रो भनेको छैन् । तर, जनताले यसरी तिरस्कार गर्लान भन्ने उहाँहरुलाई लागेको थिएन होला, अब जनता सचेत भइसकेका छन् । उहाँहरुले कर्मको फल पाउनु हुने नै छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij