वेबटिभी खबर
काठमाडौं । पाँचथर जिल्ला अस्पतालले प्रसूति सेवामा अब्बल सेवा प्रदान गर्दै आएको छ । विगतका तीन आर्थिक वर्षमा यस अस्पतालले बर्सेनि एक हजारभन्दा बढी महिलालाई सुत्केरी गराएको छ । यससँगै अस्पतालले प्रसूति सेवा दिने महिलाको सङ्ख्यामा वृद्धिसमेत भइरहेको छ ।
यसैगरि शल्यक्रियामार्फत सुत्केरी गराइएको सङ्ख्यासमेत वार्षिकरूपमा वृद्धि भइरहेको अस्पतालको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष ०७५–०७६ मा अस्पतालले एक हजार ९८ महिलालाई सुत्केरी गराएको थियो । जसमध्ये १४३ जनाको शल्यक्रिया गरिएको थियो । यस्तै आ.व ०७६–०७७ मा अस्पतालमा एक हजार १७८ महिलालाई सुत्केरी गराइएको थियो । तीमध्ये १८३ को शल्यक्रिया गरिएको थियो ।
कोभिड–१९ सङ्क्रमण महामारीबिच पनि गत आ.व ०७७–०७८ मा यस अस्पतालमा सुत्केरी गराउने तथा शल्यक्रिया गर्नुपर्ने महिलाको सङ्ख्यामा झनै वृद्धि भएको देखिन्छ । गतवर्ष अस्पतालमा एक हजार ३७४ महिलाको सुत्केरी गराइएको छ । तीमध्ये ३२० को शल्यक्रियामार्फत प्रसूति गराइएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशीले जानकारी दिए ।
प्रसूति सेवा तथा शल्यक्रियामार्फत प्रसूति सेवा लिने महिला पाँचथर जिल्लाका मात्रै छैनन् । अघिल्ला दुई आवको तथ्याङ्क प्राप्त नभए पनि गत आवमा शल्यक्रियामार्फत प्रसूति गराइएकामध्ये २२ प्रतिशत महिला जिल्ला बाहिरका छन् । गत आवमा ३२० आमाको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो । तीमध्ये ५१ ताप्लेजुङका, १८ तेह्रथुमका र तीन जना इलामका थिए । यस्तै बिना शल्यक्रिया प्रसूति गराइएकामध्ये ताप्लेजुङका ८१ र तेह्रथुमका ७९ जना रहेको अस्पतालको तथ्याङ्कले देखाएको छ ।
विगत एक दशकदेखि प्रसूतिका लागि ख्याति कमाएको पाँचथर जिल्ला अस्पतालमा अहिले शल्यक्रियामार्फत प्रसूति गराउन सक्ने दुई जना विशेषज्ञ (एमजीडीपी) चिकित्सक छन् । यस्तै एक जना एड्भान्स एसपिए तालीम लिएका चिकित्सकसमेत सेवामा छन् । ‘अहिलेसम्म सहज रूपमै प्रसूतिको सेवा दिँदै आएका छौ’ अस्पतालका सूचना अधिकारीसमेत रहेका मेडिकल रेकर्ड अधिकृत जोशीले भने, ‘कोभिड–१९ का बिरामीको उपचारका लागि एचडियुसमेत अस्पतालमै सञ्चालनमा रहेकाले अहिले भने जनशक्तिको अभाव भएको छ ।’
प्रसूति सेवामा दशकभन्दा लामो समय अघिबाट पाँचथर अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ । स्त्रीरोग विशेषज्ञ डा.पवनजङ्ग रायमाझीले जिल्ला अस्पतालबाट सेवा दिएपछि पाँचथर अस्पताल प्रसूतिका लागि देशमै कहलाएको थियो । पन्ध्र शैय्या सञ्चालनको स्वीकृति पाएको भए पनि अहिले यो अस्पतालले ३५ शय्यामा बिरामीलाई सेवा दिइरहेको छ । बिरामीको चाप र क्षेत्रीय आवश्यकताका आधारमा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश नं १ सरकारले चालु आवको नीति तथा कार्यक्रममा १०० शय्यामा विस्तार गर्ने उल्लेख गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij