वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।
‘देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र गतिमा अगाडि बढ्नुपर्ने छ । यसमा निजी क्षेत्र र सरकारको सहकार्यको आवश्यकता छ,’ ओलीले भने, ‘ सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौं, देश विकास गर्न सक्छौं ।’
सरकारको मुख्य प्राथमिकता स्थिरता, स्थायित्व, सुशासन र विकास भएको बताउँदै ओलीले अस्थिरताको अन्त्य हुने बताए । नीतिहरू छिनछिनमा बद्लिने, व्यवसायीक क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, एउटा सरकारका ठाउँमा अर्को तुरुन्तै बद्लिने र अघिल्लो सरकारले ल्याएका राम्रा कामलाई रोक्ने मानसिकता बदल्नु पर्ने उनले औंल्याए ।
‘नीतिगत अस्थिरता जस्ता कुराहरूको अन्त्य गर्नका लागि, सरकारको स्थिरता एवं स्थायित्वको लागि, नीतिगत स्थिरता र स्थायित्वको जस्ता कुराहरूका साथ अगाडि बढ्दा निम्ति नै सरकार बनेको हो,’ उनले भने ।
देशमा भ्रष्टाचार न्यूनिकरण र अन्त्य गर्नसमेत सरकार प्रतिवद्ध रहेको उनले स्पष्ट पारे । उनले जनतालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको बताए ।
सोही कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्नेमा सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएकी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij