वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का २० सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।
जसपाका सांसद प्रमोद साहले प्रधानमन्त्रीलाई जसपाका २० सांसदले मत दिने दावी गरे । विश्वासकाे पक्षमा हिजै १७ जना पुगेका थिए । आज थप तीनजना सांसद विश्वासकाे मत दिने पक्षमा थपिएका हुन् ।
जसपाको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समुह मात्र देउवालाई विश्वाको मत दिने पक्षमा छ । जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो समूह विश्वासको मतको विरुद्धमा छ ।
सांसद साह पहिले ठाकुर–महतो समुहमै थिए । तर अहिले यादव समुहमा खुलेका छन् । ठाकुर–महतो पक्षको जंगी शैलीले गर्दा उक्त समुहमा बस्न नसकेको भन्दै साहलगायतका सांसद यादवतर्फ लागेका हुन् ।
ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने बेला ठाकुर–महतो पक्षले २० सांसद पुर्याएका थिए । यादव–भट्टराई समुहमा १२ सांसद मात्र थिए ।
‘अहिले अवस्था ठिक उल्टो भएको छ,’ साहले भने, ‘विश्वाको मतको पक्षमा जसपाबाट २० सांसदले मतदान गर्नेछन् ।’
पार्टीमा महतो निकट मानिने साह नेतृत्वसँग असन्तुष्ट भएर यादवतर्फ लागेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij