वेबटिभी खबर
धनगढी । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताएका छन् । उपप्रधानमन्त्री सिंहले जनअपेक्षा अनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताएा हुन् ।
‘जनचाहना अनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न ध्यान केन्द्रित गरेको छ,’धनगढी उपमहानगरपालिकाको १० औं स्थापना दिवसका अवसरमा मंगलबार भएको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भने ।
उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले आवश्यक कानूनहरू बनाएर जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा पनि जोड दिएका छन् । साथै उनले व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आएको उल्लेख गरे । ‘व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने भास्य बनाउन खोजिँदैछ, तर त्यस्तो होइन,’उपप्रधानमन्त्री सिंहले भने, ‘२०४६ सालअघि धनगढीकै अवस्था कस्तो थियो, अहिले कस्तो छ तुलना गरेर हेरौं न, परिवर्तन त भएका छन् नि ।’
उनले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य लगायत क्षेत्रमा पहिलेकोभन्दा तुलनात्मक रूपमा अहिले राम्रो हुँदै गएको पनि बताएका छन् । ‘हामी आफैले परिवर्तन महसुस गरेका छौं भने त्यो अवस्थामा परिवर्तन भएको हो नि,’उपप्रधानमन्त्री सिंहले भने । सरकार घरीघरी परिवर्तन भइरहँदा नैराश्यता देखिएकोले संघीय संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर अहिलेको सरकार बनाइएको सिंहले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij