Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

  • 49
    SHARES
  • भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) डे-अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत आयात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । 

    प्राधिकरणले मङ्सिर १ २०८३ देखि १५ साउन २०८४ सम्म विद्युत् आयात गर्न पाउनेछ । यसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आईएक्सबाट दैनिक विद्युत आयात गर्न सकिनेछ । अनुमतिअनुसार, कटैया-कुशाहा, रामनगर-सुरजपुरा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया-मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न थप सहज हुने बताए । 

    रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यसलगायतका अवस्थालाई ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म विद्युत् माग आन्तरिक उत्पादनभन्दा बढी हुने अनुमान छ । यस अवधिमा भारतबाट विद्युत आयात गर्नुपर्ने देखिएको छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर विद्युत आयात गर्नुपर्ने अनुमान गरिएको छ । 

    यस्तै, उच्च माग हुने पिक आवरमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको अनुमान गरिएको छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने आकलन गरिएको छ । आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव क्रमशः बढ्दै जाने भएकाले आन्तरिक विद्युत उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन हुँदै विद्युत निर्यात सुरु हुने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले १ मङ्सिर २०८३ (१७ नोभेम्बर २०२६) देखि १५ साउन २०८४ (३१ जुलाई २०२७) सम्म उक्त विद्युत् निर्यात गर्न पाउनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij