नयाँ दिल्ली । भारी वर्षाको प्रभावका कारण मंगलबार भारतको आर्थिक राजधानी मुम्बई, वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको छ । त्यसैगरी विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ ।
भारी वर्षा पछि रेल तथा उडान सेवाहरू पनि प्रभावित भएका छन् । सोमबार विभिन्न स्थानमा तीन सय मिलिमिटर भन्दा बढी वर्षा दर्ता भएपछि धेरै ठाउँमा गम्भीर समस्या देखिएको छ ।
वर्षाकै कारण मुम्बई विश्वविद्यालयमा मंगलबारका लागि निर्धारित सबै परीक्षाहरू स्थगित गरिएको तथा नयाँ मिति चाँडै घोषणा गरिने विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जनताको सुरक्षा सुनिश्चित गर्न, राष्ट्रिय विपद् प्रतिक्रिया बलका टोलीहरू ठाणे, वसई, महाड, चिप्लुन, कोल्हापुर, सांगली, सतारा घाटकोपर, कुर्ला र सिन्धुदुर्ग लगायत मुम्बई र वरपरका क्षेत्रमा तैनाथ गरिएको छ । यसैगरी तल्लो क्षेत्रमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
मौसम पूर्वानुमानमा, भारतीय मौसम विभागले मुम्बई र महाराष्ट्र राज्यका अन्य भागहरूमा आगामी दुई दिनसम्म भारी वर्षा जारी रहने बताएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij