Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चितवन निकुञ्जमा गोहीका २६५ बच्चा कोरलिए

चितवन निकुञ्जमा गोहीका २६५ बच्चा कोरलिए

  • 601
    SHARES
  • चितवन निकुञ्जमा गोहीका २६५ बच्चा कोरलिए

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २ सय ६५ वटा बच्चा कोरलिएका छन् । राप्ती र नारायणी नदी किनारबाट संकलन गरिएका अण्डा प्रजनन केन्द्रमा लगेर कोरलिएको हो ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार राप्तीको दुधौरा, हात्तीडाँडी (खोरसोर)लगायतका क्षेत्रबाट २ सय ३८ वटा अण्डा संकलन गरिएको थियो । नारायणी नदीको भेलौजी र शिसुवारबाट २ सय १० वटा अण्डा संकलन गरिएको हो । कूल ४ सय ४८ अण्डा संकलन भएकामा ११ वटा न्याउरी मुसाले खाएको उनले जानकारी दिए । 
     
    ती अण्डामध्ये १० अण्डा विदेशी अनुसन्धानकर्ताले इन्कुभेटरमा राखेका थिए । त्यहाँबाट सातवटा बच्चा र अन्यबाट २५८ वटा बच्चा कोरलिएका हुन् । कूल अण्डाको ५९ प्रतिशत बच्चा कोरलिएको अधिकारीले बताए ।

    वैशाखको पहिलो साता अण्डा संकलन गरिएको थियो । असार पहिलो साताबाट क्रमशः बच्चा कोरलिएका हुन् । प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर नदीमा छाड्ने गरिन्छ । राप्ती, नारायणीलगायतका नदीमा हालसम्म एक हजार ५ सय १५ गोहीका बच्चा छाडिसकिएको छ ।
     
    पछिल्लो गणनाअनुसार नेपालका नदीमा १ सय ९८ वटा गोही भेटिएका थिए । पानीको बहाव भारततर्फ जाने भएकाले यहाँ हुर्काएर नदीमा छाडिएका अधिकांश गोही भारत पुगेको बताइन्छ । हाल प्रजनन केन्द्रमा नयाँ बच्चाबाहेक ५ सय २ गोही छन् । प्रजनन केन्द्रमा भालेको अभावमा गोहीका बच्चा कोरलिन सकेका छैनन् । गत वर्ष र यस वर्ष अण्डा पारे पनि बच्चा नकोरलिएको निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार प्रजनन केन्द्रमा १२ वटा वयस्क पोथी भए पनि भाले भने एउटा मात्रै छ । सो भाले विसं २०३५ यता रहेको उनको भनाइ छ ।

    राप्ती नदीको दुधौरा क्षेत्रमा १ सय ८१ वटा बच्चा देखिएका छन् । अन्य क्षेत्रमा पनि प्राकृतिकरूपमा बच्चा कोरलिएको पौडेलले जानकारी दिए । निकुञ्जले केही अण्डालाई प्राकृतिकरूपमा छाडेर केहीलाई प्रजनन केन्द्रमा ल्याउने गर्दछ । विश्वमा नै लोप हुने अवस्थामा पुगेपछि नेपालले पनि गोहीको संरक्षण गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij