वेबटिभी खबर
ओखलढुंगा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या दीर्घकालीनरुपमा अन्त्य गरिने बताएका छन् ।
आज सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री राईले पिउने पानीको अभाव सधैँका लागि अन्त्य हुनेगरी सरकारले काम गरिरहेको बताएका हुन् ।
मन्त्री राईले देशका कतिपय ठाउँमा अझै खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नेपालीमाझ स्वच्छ खानेपानी पुर्याउन योजनाबद्ध ढंगले काम गरिरहेको जानकारी दिए । पिठ्युँमा पानी बोक्नुपर्ने दिनको अन्त्य गर्नेगरी आफू मन्त्रीमा नियुक्त भएदेखि काम गरिरहेको उनको भनाइ छ ।
‘पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यताको चाँडै अन्त्य हुन्छ । घरघरमा धारा लगेर सबै नेपालीलाई स्वच्छ पानी खुवाउन सरकारले काम गरिरहेको छ’, मन्त्री राईले भने, ‘खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था हुन्छ । स्रोतको सदुपयोगमा उपभोक्ता समिति, आमनागरिक र सबै सरोकारवाला सचेत हुनुपर्छ ।’
आफूले उपभोग गर्ने खानेपानी आयोजनाको संरक्षण र सरसफाइमा सरकारको मुख नताकी उपभोक्ता आफैँले काम गर्नुपर्ने मन्त्री राईको भनाइ थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij