Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै

पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै

  • 282
    SHARES
  • पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै

    काठमाडौं । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

    काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् ।

    पर्यटकका पथप्रदर्शक राजन मिश्रले होली खेल्न पर्यटक  उत्साहित हुने गरेका बताए । उनले भने, ‘हरेक वर्ष विदेशीलाई होली खेलाउन वसन्तपुर जाने गरेको छु । यो पर्व मन नपराउने कमै छन् ।’

    फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । पाल्पाका किसन भट्टराईका अनुसार होलीमा टेम्को (परम्परागत बाजा) बजाउने अनि समूहमा आबद्ध भई नाच्ने पुरानो परम्परा हो ।

    उनले भने, ‘गाउँमा अहिले पनि फागु खेल्ने चलन छ । काठमाडौंमा पानी र रङ छ्यापेर चित्त बुझाउनुपर्छ ।’ हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ ।

    यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

    नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षिले होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताए ।

    उनले भने, ‘होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब । सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ ।’ होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी कर्मचारी खटाइएको छ ।

    अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने मैनालीले नियम सुनाउनुभयो । यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गरिने चेतावनी उनले दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij