वेबटिभी खबर
काठमाडौं । पहिराेले मकवानपुरको राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।
राक्सिरागङ-७ स्थित चरिमारमा आएको पहिराेले घरहरू भत्काएको हो र केही गोठ बगाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । मल्लकाअनुसार स्थानीय वीरबहादुर सुनारको कच्चीघर, सोही वडाका दुगुंवागंमा वुद्धिलाल प्रजाको गोठ र गोठमा रहेको तीनवटा गोरु बगाएको र सोमबहादुर प्रजाको घर पहिरोले पुरेको छ ।
यस्तै सोही वडाको धकागं टोलमा रहेको वनैलीमाया प्रजाको घर पहिराेले बगाएको छ । अन्य चारा घर जोखिममा रहेको बताइएको छ । पानी परिरहेकाले प्रभावितको उद्दार गरी सुरक्षित स्थानमा पठाउन कठिनाई भएको अध्यक्ष मल्लले भने । त्यसैगरी बिकट क्षेत्रका रुपमारहेको कैलाश गाउँपालिकाको वडा नम्वर २, ३ र ४ मा तीनवटा घर पहिराेले भत्काएको छ ।
गाउँपालिकाका विपद् व्यवस्थापन समितिका ‘फोकल पर्सन’ श्यामकुमार महतोकाअनुसार धेरै खेतहरू पहिराेले पुरिएको र चौपायाहरू मरेका छन् । सो गाउँपालिकाको विभिन्न वडामा क्षति पुगेको छ तर सञ्चार सुविधाले नहुँदा विस्तृत विवरण सङ्कलन र जनतालाई राहत पुर्याउन सकिएको छैन ।
कैलाशको वडा नम्वर १० का ३५ घर जोखिममा परेको स्थानीयवासीले बताएका छन् । सो वडाको विभिन्न स्थानमा गएका पहिराेले घर जोखिममा परेको हो । स्थानीय मिरा स्याङ्तानका अनुसार सो वडाको सुकुभज्यागङ्, दरवार डाँडा, दुवेखेत, खोला खेत, तिलडाँडामा गए राति परेको अविरल वर्षाले ३५ घरका १७५ जोखिममा परेका छन् । महिला, बालबालिका र ज्येष्ट नागरिक आ आफ्ना घर छोडेर सुरक्षित स्थानमा बसेका छन् ।
त्यसक्षेत्रमा मोवाइल नेट र विधुत् समस्या पनि भएको बताइएको छ । हेटौंडा सदरमुकामभन्दा टाढा रहेकाले राहत र उद्धारमा समस्या रहेको जिल्ला प्रशासन कार्यालय मकवानपरले जनाएको छ । यता हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा खोला नालामा आएको बाढीले त्यहाँका बासिन्दा समस्या परेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij