वेबटिभी खबर
सोलुखुम्बु । सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न विराटनगर–लुक्ला माउन्टेन फ्लाइट छिटै सुरु गरिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने योजना रहेको मुख्यमन्त्री कार्कीले बताए । उनले यो उडान छिट्टै कार्यान्वयनमा आउनेसमेत दावी गरे ।
‘खुम्बु क्षेत्र संघीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ,’ उनले भने, ‘यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगर–लुक्ला जहाज उडान गर्ने तयारी गरिरहेका छौँ ।’
सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिखमा ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उनले जानकारी दिए । प्रदेशमा अवस्थित विश्वको शिरलाई प्रवर्द्धन गर्न प्रदेश सरकार सदैव तयार रहेको उनको भनाइ थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij