Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

गुणस्तर सुधार्न विद्यालय ‘मर्ज’

गुणस्तर सुधार्न विद्यालय ‘मर्ज’

  • 163
    SHARES
  • गुणस्तर सुधार्न विद्यालय ‘मर्ज’

    बाग्लुङ । गलकोट नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय एकापसमा गाभेको (मर्ज) गरेको छ ।

    चालु वर्षमा गलकोटका दर्जन विद्यालय मर्ज र तह मिलान भएका छन् । गाभिएकामध्ये वडा नं ७ को झिर्कामा रहेको आधारभूत विद्यालय अहिले कक्षा ३ सम्म चलेको छ ।

    यहाँका विद्यार्थीलाई कक्षा ४ देखि जनहित मावि मल्ममा आउनुपर्छ । नगरपालिकाले गाडीको व्यवस्थापन गरेर आउने जाने गराएको छ । वडा नं १० को ढु्ङ्गेल प्रावि बन्द भयो । पाण्डवखानी माविमा पढ्न आउनुपर्छ । विद्यार्थी शून्य नजिक पुगेकाले विद्यालय मर्ज गर्नुपरेको नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले बताए । वडा नं ७ कै देउराली प्रावि बन्द गरियो । त्यहाँ पढ्ने १५ विद्यार्थी पनि जनहित मावि मल्म गए । वडा नं २ को चौराहा आधारभूत विद्यालय बन्द गरेर चौराहा माविमा समावेश गरियो ।

    सापकोटाका अनुसार गत वैशाखदेखि पाँच विद्यालय मर्ज गरिएको हो भने ७ विद्यालयको तह मिलान गरियो । केही हिँड्नुपर्ने बाध्यता भएका बालालिकालाई नगरपालिकाले खाजा खर्च दिन थालेको छ । विद्यालय बन्द हुँदा शिक्षक जगेडा भए ।

    त्यसपछि नगरपालिकाले ती शिक्षकलाई आवश्यकताको आधारमा स्थानान्तरण गराएको छ । ‘दरबन्दी नभएर निजी स्रोतमा राखेका विद्यालयले शिक्षक पाएका छन्,’ सापकोटाले भने, ‘अभिभावकको अनावश्यक खर्च जोगियो ।’

    निजी स्रोतको शिक्षक राखेका जनहित, चौराहा र पाण्डवखानी मावि विद्यालयलाई सहज भएको अभिभावकहरूले बताए ।विद्यालय मर्ज गर्दा गुणस्तर सुधारमासमेत सहज भएको सापकोटाको भनाइ छ ।

    उनले भने, ‘आवश्यक शिक्षक ‘कोटा’ पुगेपछि हामीले गुणस्तर सुधारका कार्यक्रम ल्याउन पाएका छौँ । शिक्षकका लागि मासिक रकम बुझाउने अभिभावकहरूले गुणस्तर सुधारका लागि खुसीले साथ दिन पाएका छन् ।’

    विद्यालयको तह मिलान गर्दा पनि आर्थिक भार कम भएको जनहित माविका अभिभावक ज्ञानबहादुर थापाले बताए ।

    अब गलकोटमा १३ माविसहित ६२ सामुदायिक विद्यालय छन् । विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ भएमा १५ जना, १–५ भए २५, ६–८ भए २१, ९–१० भए २५ र ११–१२ मा पनि २५ जना विद्यार्थी न्यूनतम चाहिने मापदण्ड छ । बागलुङ नगरपालिकाले पनि ‘बिग स्कुल’को मापदण्ड बनाएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।

    आगामी शैक्षिक सत्रमा मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालय मर्ज गर्ने तयारी भएको हो । बाग्लुङ नगरपालिकाभित्र एक सय ४ विद्यालय छन् ।

    यो संख्या नेपालका सबै पालिकाको भन्दा धेरै हो । कतिपय विद्यालयमा विद्यार्थी न्यून भएकाले मर्जको अवस्था ल्याउनै पर्ने आवश्यकता भएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

    उनले भने, ‘बरु एउटा राम्रो र आवासीय विद्यालय बनाऔँ भन्ने छ । वैशाख सम्ममा एउटा टुंगोमा पुग्छौँ ।’ गाउँ छाडेर बजार र तराई झर्ने क्रमले गाउँघरका विद्यालयमा विद्यार्थी न्यून भएका हुन् ।

  • सम्बन्धित विषय:

  • # गुणस्तर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij