Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नियम उल्लंघन गर्ने आधा दर्जन वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

नियम उल्लंघन गर्ने आधा दर्जन वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

  • 567
    SHARES
  • नियम उल्लंघन गर्ने आधा दर्जन वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

    काठमाडौं । आर्थिक वर्ष ०७७/७८ भर नीतिगत व्यवस्था उल्लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । केन्द्रीय बैंकले चालू आवमा कारबाहीमा परेका बैंकहरूबाट ८७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरीवाना गरेको छ ।

    राष्ट्र बैंकले लक्ष्मी बैंक, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई आर्थिक जरीवाना गरेको छ भने ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण ऐन र निर्देशनहरूको उल्लंघन गरेको भन्दै लक्ष्मी बैंकलाई रू. २० लाख जरीवाना तिराएको छ । यस्तै, सिभिल बैंकलाई १० लाख रुपैयाँ बराबरको जरीवाना लगाएको छ ।

    बैंकले गरेको कारोबार शंकास्पद देखिएर सम्पत्ति शुद्धीकरण ऐन तथा निर्देशन उल्लंघन गरेको देखिँदा पनि सम्बद्ध बैंकले केन्द्रीय बैंकमा रिपोर्टिङ गरेन भने जरीवाना तिराउने गरेको छ । यस्तो उल्लंघनको न्यूनतम जरीवाना रू.१० लाख रहेको छ । यसअवधिमा प्राथमिकता प्राप्त क्षेत्र कर्जा प्रवाहको तोकिएको सीमा पूरा नगरेका वाणिज्य बैंकलाई केन्द्रीय बैंकले कारबाहीको दायरामा ल्याएको छ ।

    उक्त शीर्षकमा तोकिएको सीमा पूरा नगरेकाले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरीवाना असुली गरेको छ ।  राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई सचेत रहन चेतावनीसमेत दिएको छ । विभागले राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठलाई समेत सचेत रहन निर्देशन दिएको छ । 

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सजाय स्वरूप शुरूमा बैंकको नियमन उल्लंघन गरेमा सचेत गराउने वा लिखित चेतावनी दिन पाउने व्यवस्था छ । यसअनुसार सुपरिवेक्षणको क्रममा देखिएको कमजोरीलाई राष्ट्र बैंकले औंल्याएर पहिलो चरणमा आवश्यकताअनुसार सम्बद्ध संस्था तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गरिएको बैंक सुपरिवेक्षण विभागले बताएको छ ।

    शुरूमा स्पष्टीकरण लिने र सकभर ठूलो कारर्बाही नगर्ने हिसाबले सचेत गराउने गरेको विभागको भनाइ छ । बैंकहरूले तोकिएको सीमाभित्र नरही अनिवार्य नगद मौज्दात (सीआरआर), ५ प्रतिशतसम्मको विपन्न वर्ग कर्जा, कृषि ऊर्जा, पर्यटनजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा सीमा नपुर्‍याए बैंकहरूले लिने गरेको उच्चतम ब्याजदरको आधारमा नगद जरीवाना गर्ने गरिएको छ ।

    नगदबाहेक सचेत तथा चेतावनी दिनेलगायत व्यवस्थासमेत भएकाले विभागले यसलाई अपनाएको बताएको छ । केन्द्रीय बैंकले आव २०७६/७७ मा दुईओटा वाणिज्य बैंकलाई कारर्बाहीसहित ३१ लख ४८ हजार रुपैयाँ बराबरको जरीवाना लगाएको थियो । मेगा बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै केन्द्रीय बैंकले १ लाख ४८ हजार रुपैयाँको जरीवाना तिराएको थियो ।

    सोही आवमा हिमालयन बैंकले सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन गरेको भन्दै ३० लाख रुपैयाँ जरीवाना लगाएको थियो । नेपाल बंगलादेश बैंकको एक सदस्य र सीईओलाई सचेतसमेत गराइएको थियो । राष्ट्र बैंक ऐनले बैंकहरूलाई सजाय स्वरूप सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कबुलियतनामा गराउने समेत अधिकार दिएको छ । राष्ट्र बैंकले बारम्बार हुने उल्लंघन अन्त्य गर्न, त्यसबाट अलग रहन र सुधारात्मक कदम चाल्न लिखित आदेश जारी गर्ने गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक वा वित्तीय संस्थालाई शेयर होल्डरलाई दिने लाभांशको वितरणमा प्रतिबन्ध लगाउन पनि सक्छ ।

    अवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले स्वीकार गर्न सक्ने निक्षेप वा दिन सक्ने कर्जामा प्रतिबन्ध लगाउने, कारोबारमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउन र इजाजतपत्र निलम्बन वा रद्द गर्नसमेत सक्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij