Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अब जंगलमा पनि फलफूल खेती

अब जंगलमा पनि फलफूल खेती

  • 1.1K
    SHARES
  • अब जंगलमा पनि फलफूल खेती

    बागलुङ । मानव-वन्यजन्तु द्वन्द्व घटाउने र वनको बहुप्रयोग बढाउने उद्देश्यले यहाँका दुई सामुदायिक वनमा फलफूल रोपण गरिएको छ ।

    डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा गलकोट नगरपालिका-७ मल्मस्थित लाम्दारा र काठेखोला गाउँपालिका-७ रेशको साँघुखोला रातोपहरा सामुदायिक वनमा फलफूल खेती सुरु गरिएको हो ।

    फलफूल खेतीबाट वनको उत्पादकत्व र सौन्दर्य पनि बढ्ने विश्वास लिइएको छ । कार्यालयका वन अधिकृत प्रकाश थापाका अनुसार यो वर्ष जिल्लाका दुई स्थानमा मात्र वनजन्य फलफूल रोपणको नमूना कार्यक्रम सञ्चालन गरिएको हो । ग्रामीण भेगका बस्तीमा नजिकका वनबाट बाँदर छिरेर बर्सेनि खेतीबालीमा नोक्सान पुर्याउँदै आएका छन् । हैसियत बिग्रिएका वनको अवस्था सुधार्न पनि फलफूल खेतीले सघाउने अधिकृत थापाको भनाइ छ ।

    फलफूल रोपणका लागि कार्यालयले दुवै सामुदायिक वनलाई पाँच लाखका दरले बजेट दिएको थियो । जसमा सामुदायिक वनले थप सवा लाख बराबरको जनश्रमदान जुटाएका छन् । लाम्दारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम थापाले १२ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूल लगाइएको बताए । 

    लप्सी, अमला, हर्रो, बर्रो, अम्बा, केरा, एभोकाडो, टिमुरलगायत गरी पाँच हजार फलफूलका बिरुवा रोपिएको उनको भनाइ छ । सबैभन्दा बढी लप्सीका एक हजार ४०० बिरुवा रोपिएको छ । समितिका सदस्य र उपभोक्ता मिलेर फलफूल रोपेका थिए ।

    रेशको साँघुखोला रातोपहरा सामुदायिक वनको पनि झण्डै १२ हेक्टरमा फलफूल खेती गरिएको कार्यालयले जनाएको छ । उक्त वन क्षेत्रमा बढीजसो ओखराका बिरुवा लगाइएको छ । हावापानीका कारण लाम्दारा र रातोपहरा वनमा फरक-फरक प्रजातिका फलफूल रोपण गरिएको अधिकृत थापाले बताए । 

    गलकोट-७ मा ‘फ्रुट फरेष्टी मोडल स्थापना’ र काठेखोला-७ मा ‘हैसियत बिग्रेको वनमा फलफूल रोपण’ शीर्षकमा बजेट/कार्यक्रम आएको हो । दुवैको मुख्य उद्देश्य भने मानव-वन्यजन्तु द्वन्द्व कम गर्नु नै रहेको जनाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij