वेबटिभी खबर
सप्तरी । बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मंगलबार कारागार चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो ।
अपहरणको खबरलगत्तै सक्रिय बनेको सप्तरी प्रहरीले १५ मिनेटमै आरोपीलाई पक्राउ गरी अपहरित बालिकाको सकुशल उद्धार गरेको थियो । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुर्याउनुअगावै इलाका प्रहरी कार्यालय रुपनीले आरोपीलाई पक्राउ गरी बालिकालाई सकुशल उद्धार गरेको थियो ।
राजविराजस्थित घरबाट आरोपीले जेठ २० गते ललाइफकाई बुवाको साथी भनी झुक्याएर छलकपट गरी मोटरसाइकलमा लिएर गएको पीडितले बयान दिएकी छन् । राजविराजबाट नौ किलोमिटर उत्तर रुपनी नजिक पुगेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेपछि मात्रै बालिकाले अपरहणमा परेको जानकारी पाएकी थिइन् ।
पीडित बालिकाका अनुसार आमाबुवा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी प्रदेश२–०३–०१३प ४६८२ नंको अपाची मोटरसाइकलमा आएका आरोपीले बुवाको साथी भन्दै लगेका थिए । आँगनमा निकैबेर वृद्ध हजुरबुबा, हजुरआमासँग कुरा गरेका आरोपितले आफ्नो बुबासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाएर झुक्याई लगेको बालिकाले बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij