वेबटिभी खबर
मियामी । अमेरिकाको फ्लोरिडा राज्यमा भत्किएको आवासीय भवनमा अहिलेसम्म ५ जना व्यक्तिको शव भेटिएको छ । स्थानीय प्रशासनका अनुसार अहिलेसम्म १ सय ५० जना व्यक्तिको स्थितिबारे केही थाहा भएको छैन ।
मियामीका मेयर डेनिएला लेभिन कावाले आइतबार पत्रकार सम्मेलनमा ५ जनाको शव फेला पारेको जानकारी दिएका हुन् । उनले धेरैभन्दा धेरै व्यक्तिहरुको जीवन बचाउने लक्ष्यसहित उद्धार कार्य जारी राखिएको पनि बताए ।
बिहीबार बिहान मियामीस्थित उक्त भवन भत्किएको थियो । भवन भत्किनुको कारण अहिलेसम्म केही बताइएको छैन । तर एक ईन्जिनियरले २०१९ को एक रिपोर्ट शनिबार सार्वजनिक गर्दै भवनको डिजाईनमा मूलभूत त्रुटि रहेकाले पानी बाहिर नगई भवनको जगमा जम्मा हुने गरेको बताएका छन् ।
यसैबीच, राष्ट्रपति जो बाइडेनले फ्लोरिडाका गर्भनर रन डेसेन्टिसलाई हरसम्भव सहयोग गर्ने वचन दिएका छन् । घटनास्थलमा ठूला मेसिन, ड्रोन र तालिमप्राप्त कुकुरको सहयोगमा बेपत्ता भएका व्यक्ति खोज्ने काम भइरहेको छ । यस घटनामा परेर हराउने व्यक्तिहरु इजरायल र दक्षिण अमेरिकाका रहेको बताइएको छ । भवनको भग्नावशेषबाट निकालिएका जीवित व्यक्तिहरुलाई होटलमा राखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij