वेबटिभी खबर
सल्यान । फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ दमारबाट यो समुदाय झण्डै १० वर्षपछि सल्यान पुगेको हो । गैर-सरकारी संस्था राउटे उत्थान प्रतिष्ठानले राउटे समुदाय मंगलबार सुर्खेतबाट सल्यानको कालीमाटी गाउँपालिका-५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेको जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले १० वर्षपछि राउटेहरु पुनः सल्यानमा पुगेको बताइन् । हाल ४६ घरधुरीमा गरी राउटेहरुको सङ्ख्या १४३ रहेको छ । आफ्नो समुदायका सदस्यको मृत्यु हुँदा बसाइँ सर्ने प्रचलन भए पनि राउटेहरु यसपटक गुर्भाकोट भेरी किनारमा गर्मी बढेपछि सल्यानतर्फ लागेको बताइएको छ । अछाम, दैलेख, सुर्खेतका विभिन्न जंगल क्षेत्र हुँदै उनीहरु सल्यान सरेका हुन् ।
गुर्भाकोट नगरपालिकामा रहँदा यही जेठ २१ गते दुई राउटे युवतीमाथि यौनजन्य हिंसाको घटना सार्वजनिक भएको थियो । प्रहरीले उक्त घटनामा संलग्न तीन युवालाई जबरजस्ती करणी र साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । पहाडी जंगलमा फिरन्ते जीवनशैली बिताउने राउटे समुदाय नेपालकै लोपोन्मुख आदिवासीमा पर्दछ । सरकारले यस जातिको सुरक्षाका लागि प्रतिव्यक्ति मासिक रु.तीन हजार प्रदान गर्दै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij