वेबटिभी खबर
उदयपुर । उदयपुरको कटारी नगरपालिका-४ का मुना सुनुवार पेसाले शिक्षिका हुन् । स्नातकोत्तर अध्ययनरत उनी चार महिनादेखि सुनुवार भाषा सिकिरहेकी छिन् ।
उनले भने, ‘आफ्नो भाषाको संरक्षण आजको आवश्यकता रहेछ, त्यही भएर सिकिरहेकी छु । सिक्न त सिकेँ घरमा बोल्ने मान्छे छैनन् कोसँग बोल्ने ।’
मुनामात्रै होइन कटारी-३ का टुपेन सुनुवारले पनि अहिले सुनुवार भाषा सिकिरहेका छन् । आफ्नो भाषा हराउँदै गएपछि भाषा सिक्न आवश्यक भएकाले भाषा सिक्न थालेको उनले बताए ।
कटारी-३ कै शुभद्रा सुनुवार विद्यार्थी हुन्, उनी पनि सुनुवार भाषा सिकिरहेकी छिन् । उनीजस्ता ४० युवा तथा बालबालिकालाई सुनुवार मातृ भाषा सिकाउन सुनुवार सेवा समाज नगर समिति कटारीले कक्षा सञ्चालन गरिरहेको छ ।
समाजका अध्यक्ष तिलक सुनुवारले भने, ‘चार महिनादेखि प्रत्येक शनिबार सुनुवार भाषा सिकाउने कक्षा सञ्चालन गरिहेका छौँ । भाषा जोगाउन निःशुल्क कक्षाको आयोजना गरेर सिकाइरहेका छौँ ।’
यसका लागि अध्यक्ष सुनुवारसँगै सुनवार भाषाबारे जानकार पाण्डव सुनुवारले सहजीकरण गरिरहेका कोशी प्रदेश उपाध्यक्ष सन्तबहादुर सुनुवारले बताए ।
उनले भने, ‘जातिको पहिलो पहिचान भनेको भाषा हो, भाषा नै हराउने भएपछि हामी लागिपरेका हौँ । अहिले त धेरैजना सामान्य बोलचाल गर्न सक्ने भइसकेका छन् ।’
बसोबासका क्रममा थातथलो छाडेर अन्यत्र सरेसँगै सुनुवारको नयाँ पुस्ताले भाषा बोल्न नसक्ने भएपछि भाषा जोगाउन कक्षा नै सञ्चालन गरेको पनि उपाध्यक्ष सुनुवारले बताए ।
प्रदेश र देशभरिकै सुनुवार बस्तीमा भाषा सिकाउन आवश्यक रहेको पनि उनको भनाइ थियो । नेपालमा जनगणना २०७८ अनुसार सुनुवार जातिको संख्या ७८ हजार ९१० रहेको छ ।
यो कुल जनसंख्याको शून्य दशमलव २७ प्रतिशत हो । सुनुवार जातिको बसोबास रामेछाप, दोलखा, सिन्धुली, खोटाङ, ओखलढुंगा, तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा र सर्लाहीमा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij