वेबटिभी खबर
काठमाडौं । मेलम्चीका बाढीपीडितलाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई महानगरपालिकाले राहत तथा उद्धारका लागि उक्त रकम हस्तान्तरण गरेको हो ।
सोमबार महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगेर ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो । उक्त टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ पनि गृहजिल्ला सिन्धुपाल्चोक गएका थिए ।
३ असारमा मेयर शाक्यले महानगरपालिकासँग भगिनी सम्बन्ध पनि रहेको मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०-५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकन गरेको छ ।
महानगरपालिकाले गरेको यो सहयोगले बाढीपीडित सिन्धुबासीका लागि थोरै भए पनि राहत मिल्ने मेयर शाक्यले बताए ।
‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौं महानगरको सम्बन्ध जोडिएको छ,’ शाक्यले भने, ‘यहाँको नदीको पानीबाट काठमाडौंबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो प्रगाढ सम्बन्ध छ । संख्याका आधारमा यो रकम ठूलो नहोला तर यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौं ।’
मेयर शाक्यले प्राकृतिक विपदका बेला संयमता अपनाएर अघि बढ्न पनि जनप्रतिनिधिहरुलाई सुझाव दिए ।
‘देशैभरीका नागरिकले अहिले बाढी-पहिरोका कारण विपद् भोगिरहनु परेको छ । काठमाडौं महानगरले भगिनी सम्वन्ध स्थापित गरेको नगर मेलम्ची र थप दुई गाउँपालिकाका जनता पनि अहिले विपद्मा छन् । त्यसैले थोरै भए पनि यो पीडामा मल्हम लगाउन हामी यहाँ आएका हौं,’ शाक्यले भने, ‘कोरोनासँगै अहिले यहाँका बासिन्दालाई अर्को विपद् आइलागेको छ । यो विपद्लाई धैर्य नगुमाई सामान गर्न सबैलाई आग्रह गर्छु । भौतिक क्षति त पुरा गर्न सकिएला तर मानवीय क्षतिको परिपूर्ति हुँदैन ।’
सिन्धुपाल्चोकका स्थायी बासिन्दासमेत रहेका स्वास्थ्यमन्त्री तामाङले आफ्नो जिल्लाका स्थानीय तहका लागि महानगरको यो सहयोग अतुलनीय भएको भन्दै प्रसंशा गरे ।
‘मेलम्चीबासीलाई पीडा पर्दा काठमाडौं महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ । मेलम्ची र सिंगो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ मन्त्री तामाङले भने ।
नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले सहयोगका लागि महानगरपालिकालाई धन्यवाद व्यक्त गरे ।
‘यो सहयोगले क्षति व्यवस्थापनका लागि ऊर्जा प्राप्त भएको छ,’ मेयर अर्यालले भने, ‘भगिनी सम्बन्धलाई यो सहयोगले थप बलियो बनाएको छ । हामी महानगरपालिकाका प्रमुखज्यु र महानगरपालिका परिवारलाई धन्यवाद दिन चाहन्छौं ।’ कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पनि महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे ।
महानगरपालिकाले यसअघि नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नम्बर १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ रकम अनुदान दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij