Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सय वर्षदेखिको खानेपानी समस्या अन्त्य

सय वर्षदेखिको खानेपानी समस्या अन्त्य

  • 213
    SHARES
  • सय वर्षदेखिको खानेपानी समस्या अन्त्य

    बाग्लुङ । बाग्लुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम संकट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ ।

    बाग्लुङ नगरपालिका-३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ । चार किलोमिटर टाढा छरिखोलागाउँबाट मुलको पानी लिएर एक सय ८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ ।

    तीन महिनामा बाग्लुङ नगरपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र स्थानीय रातमाटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साझेदारीमा एक करोड नौ लाख खर्चेर घरघरमा खानेपानीको धारा निर्माण गरिएको स्थानीय मुरारी शर्माले बताए ।

    २०५८ बाटै छरिखोलाबाट पानी ल्याउन थाले पनि व्यवस्थित नुहँदा सामुदायिक धाराका कारण खानेपानीको समस्या भएको र अहिले घरघरमै २४सै घन्टा खानेपानीको सुविधा भएको उनको भनाइ छ ।

    ‘काठेखोला पुगेर पानी लिएको पुर्खाले बताएको सुन्दै आएका थियौँ, अहिले घरघरमै खानेपानीको धारा आएको छ, पहिलाको पानी व्यवस्थित नहुँदा समस्या थियो, हिउँदमा त पानी भर्न पालो कुर्नुपर्ने अवस्था थियो’, स्थानीय मुरारी शर्माले भने, ‘बाग्लुङ नगरपालिकाको पहलकदमीलाई विशेष धन्यवाद दिन चाहान्छौँ, बाग्लुङ बजारसँग जोडिएको गाउँ भए पनि बत्तीमुनिको अँध्यारो जस्तो भएको थियो रातमाटा, यहाँको खानेपानीको दुःख, संघर्ष र पीडा भनीसाध्य थिएन, अहिले विकासको महसुस गरेका छौँ ।’

    पटकपटक खानेपानी आयोजना परे पनि व्यवस्थित नहुँदा खानेपानीको दुःख नगएको भन्दै अहिले नेवाको आर्थिक तथा प्राविधिक सहयोग नगरपालिकाको र स्थानीय उपभोक्ताको साझेदारीमा एक सय ८१ धारा बनेकामा एक सय ७५ घर र छ वटा सार्वजनिक स्थल तथा विद्यालयलगायतका स्थानमा धारा निर्माण गरिएको हो ।

    रातमाटामा खानेपानीको दुःख पहिलेदेखि सुन्दै आएको बताउँदै नगरप्रमुख वसन्तकुमार श्रेष्ठले तीन महिनामा एक करोड नौ लाखको आयोजनाको काम सम्पन्न हुनु गौरवको विषय भएको बताए ।

    ‘नेवाको साझेदारीमा एक वर्षभित्रै संकटग्रस्त क्षेत्र लङ्गाउँमा लिफ्टमार्फत खानेपानी वितरण गरियो, त्यसको एक महिनापछि रातमाटामा एक सय ८१ घरमा खानेपानी पुर्‍याएको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘खानेपानीको दुःख रहेको रातमाटाका घरघरमा धारा बन्दा स्थानीयको दैनिकी फेरिने भयो ।’

    नेवाको ६७ लाख ५९ हजार नौ सय ८५, नगरपालिकाको १६ लाख ९३ हजार सात सय ९४, स्थानीय समुदायको नगद छ लाख ३४ हजार एक सय ८३ र स्थानीयको श्रमदान बराबरको १९ लाख ६९ लाख नौ सय १६ गरी एक करोड नौ लाख ७५ हजार सात सय ५७ रकममा उक्त खानेपानी आयोजना निर्माण सुरु भएको तीन महिनामै सकिएको रातमाटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव दिपक शर्माले जानकारी दिए ।

    शर्माका अनुसार आयोजना सम्पन्न गर्न नेवासँग २०७९ पुस २६ गते सम्झौता भए पनि चैतदेखि निर्माणको काम थालिएकामा निर्माण सुरु भएको तीन महिनामै खानेपानी आयोजनाको काम सकिएको हो ।

    खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हितनाथ शर्माले चार किलोमिटर मुख्य पाइपलाइनसहित घरमा घारा पुर्‍याउँदासम्म १८ किलोमिटर पाइपलाइन, तीन वटा इन्टेक, पाँच वटा वितरण ट्यांकीमार्फत रातमाटा गाउँका घरघरमा धारा वितरण गरिएको बताए ।

    खानेपानीको चरम संकट भएको स्थानमा नेवाले स्थानीय सरकारको नगद साझेदारीमा ‘एक घर, एक धारा’ निर्माण गरिरहेको जनाउँदै नेवा बाग्लुङका कार्यालय प्रमुख रमेश दाहालले बाग्लुङको रातमाटासहितका ठाउँमा पाँच वर्षमा पाँच हजार धारा निर्माण गरिएको जनाए ।

    २०५८ मा ‘रातमाटाको नारा घरघरमा खानेपानीको धारा’ भन्ने गरिएको अभियान अहिले आएर मात्रै पूरा भएको स्थानीय लक्ष्मी शर्माले जानकारी दिइन् ।

    ‘पहिलेको पानी व्यवस्थित थिएन, बिहान बेलुका मात्रै पानी आउथ्यो, हिउँदमा त खानेपानीको भर नै थिएन, अहिले खानेपानी जतिबेला खोल्दासमेत आउँछ’, शर्माले भनिन्, ‘अहिले त महिलाको दैनिकी पानीका लागि व्यवस्थापन गर्नु पर्दैन, खानेपानीले रातमाटावासीमा खुसियाली छाएको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij