वेबटिभी खबर
चितवन । नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छन । भरतपुर-२७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगल निरीक्षणका क्रममा उनले आग्रह गरेकी हुन ।
सरोकारवालासहित नदी तटीय क्षेत्रमा निरीक्षणमा पुगेकी प्रमुख दाहालले ठेक्का लगाएका क्षेत्रमा ठेकेदारमार्फत् र अन्य क्षेत्रमा नारायणी नदी व्यवस्थापन आयोजनालाई आफैले कटान रोक्ने काम अघि बढाउन आग्रह गरिन् ।
स्थानीयसँग उनले कटान गरेलगत्तै आइतबारै आयोजनालाई काम अघि बढाउन र आवश्यक परे महानगरका तर्फबाट जुनसुकै सहयोग गरिने बताएको जानकारी दिइन् । नगर प्रमुख दाहालले भनिन्, ‘तपाईहरु ढुक्क हुनुहोस् नदी बस्ती पस्न दिइदैन ।’
सो ठाउँमा आयोजनाले कटान गरेको ठाउँमा एक सय बोरामा ढुंगा भरेर राखेको छ । त्यसैगरी आज दिउँसोसम्म चार ट्रक ठूला ढुंगा राखेर नदी नियन्त्रण गरिएको छ । थप ढुंगा आउने क्रम जारी रहेको दाहालले बताइन् ।
सो ठाउँमा गरिएको तटबन्ध कटान गरेपछि आइतबार राति ११ बजेबाट काम थालिएको प्रमुख दाहालको भनाइ छ । सोही क्रममा उनले भरतपुर-२८ को लौखरीको तामाङ टोल र वडा नं-२६ को भगडीको शिवालय मन्दिर नजिक नारायणी नदीले कटान गरेका क्षेत्रको स्थलगत अवलोकन गरेका थिए ।
सो क्रममा सँगै पुगेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुख, नारायणी नदी व्यवस्थापन आयोजनाका इञ्जीनीयर, वडाध्यक्षलाई दाहालले सबैले हातेमालो गरेर नदी कटान रोक्न लाग्न आग्रह गरेका थिए ।
तटबन्धको काम धमाधम भइरहेकाले अर्को वर्षबाट समस्या नहुने उनको भनाइ थियो । तामाङ टोल र शिवालय मन्दिर छेउमा नदीले कटान थालेसँगै आवश्यक सावधानी तथा तटबन्धका काम गर्नुपर्ने देखिएको छ ।
नदी किनारलाई पाँच भागमा विभाजन गरेर तटबन्धको काम भइरहेको छ । कटान क्षेत्र पुग्नुभएका नारायणी नदी व्यवस्थापन आयोजनाका डिभिजनल इञ्जीनीयर शंकर बुढाथोकीले नदीले कटान गरेका कतिपय क्षेत्रमा आयोजना र निर्माण व्यवसायीले काम गरेका क्षेत्रमा उनीहरुलाई कटान रोक्न भनिसकिएको बताए ।
नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ । विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै/थोरै काम हुँदै आएकोमा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका महानगरपालिकातर्फका अधिकांश भू-भागमा काम थालिएको हो ।
पाँच खण्ड बनाएर काम गरिएको छ । तीमध्ये नारायणी नदी बीच मोडलको काम सम्पन्न भइसकेको छ । बुढाथोकीका अनुसार समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij