वेबटिभी खबर
काठमाडौं । विपद् व्यवस्थापन र निर्वाचन सुरक्षाबारे छलफल गर्न गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको संयुक्त बैठक राखेका छन् । गृहमन्त्री अधिकारीसहित सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको बैठक सिंहदरबारमा जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ को मध्यरातमा दोस्रो पटक संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ मा निर्वाचन मिति घोषण गरिसकेकी छिन् ।
गृहमन्त्री अधिकारीले सातै प्रदेशका ती मन्त्रीसँग आसन्न निर्वाचनका साथै हाल वर्षाका कारण आएको बाढी पहिरो रोकथाम तथा नियन्त्रण र पीडितलाई राहत, उद्धारको कार्ययोजनाबारे छलफल गर्दै छन् ।
बैठकमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् ।
विपद् व्यस्थापन र राहत तथा उद्धारका विषयमा शुक्रबार राष्ट्रपति भण्डारीले शितल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij