वेबटिभी खबर
वाशिंटन । अमेरिकाले काेराेनाविरूद्धकाे खाेपमात्र नभइ ट्याब्लेट पनि बनाउने तयारी गरेकाे छ । यसका लागि सरकारले ३ अर्ब डलर छुट्याएकाे छ । चालु वर्षकै अन्तिमसम्ममा ट्याब्लेट उत्पादन गर्ने तयारी भइरहेकाे छ ।
अमेरिकी सरकारले कोरोना भाइरसविरुद्धको खोप बनाउन औषधि निर्माता कम्पनीहरुलाई १८ अर्ब डलर दिएको थियो । अहिले अमेरिकामा पाँच वटा खोप विकास भएर प्रयोगमा आइसकेका छन् ।
कोरोना भाइरसको रोकथामका लागि अझ अगाडि बढ्दै अमेरिकी अनुसन्धानकर्ताहरुले कोभिड ट्याब्लेट (औषधिको गोली) बनाउने तयारी गरिरहेका छन् । यसका लागि बाइडेन प्रशासनले ३ अर्ब डलर कोष दिएकाे छ । यी गोलीहरूले सुरुमै भाइरसको प्रभावलाई हटाएर लाखौंको ज्यान बचाउन सकिने अपेक्षा गरिएको छ ।
न्युयोर्क टाइम्सका अनुसार स्वास्थ्य तथा मानव सेवा विभाग डिएचएचएसले कोरोनाको औषधि बनाउने घोषणा गरेको हो । केही कम्पनीहरूले यसको परीक्षण सुरु गरेका छन् । यो औषधि सन् २०२१ को अन्त्यसम्ममा प्रयोगमा आउन सक्ने बताइएको छ ।
यस अनुसन्धान कार्यक्रममा कोरोनामात्र नभई निकट भविष्यमा स्वास्थ्य चुनौति खडा गर्न सक्ने खालका सम्भावित रोगहरूका लागि पनि औषधिको विकास गरिनेछ । यसका लागि 'महामारीका लागि एन्टि भाइरल' कार्यक्रम सञ्चालन भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij