वेबटिभी खबर
काठमाडौं । सन् २०१९ को डिसेम्बरदेखि विश्वभर फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म सत्र करोड ७० लाख ४८ हजार ३१ जना संक्रमित भएका छन् ।
कोरोना सुरु भएयता संक्रमणबाट ३८ लाख ३३ हजार एक सय ८३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्ला ५० दिनमा विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र रुपमा घटेको छ । भाइरस फैलिएदेखि डेढ वर्षमा पहिलोपटक संक्रमण सबैभन्दा न्युन बिन्दुमा पुगेको संगठनले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख ९७ हजार मानिस संक्रमित भएका छन् भने ९ हजार चार सय जनाको मृत्यु भएको छ । संक्रमित हुनेको यो संख्या पछिल्ला ८३ दिन यताकै सबैभन्दा थोरै हो भने मृत्यु हुने संख्या ८५ दिनयताको सबैभन्दा कम हो ।
विश्वभर संक्रमणको अवस्था हेर्दा दैनिक रुपमा निको हुनेको संख्या बढी छ । बुधबार चार लाख ५५ हजार जना संक्रमणमुक्त भएका छन् । अहिले एक करोड १६ लाख ६१ हजार सक्रिय संक्रमित रहेका छन् ।
ब्राजिलमा सबैभन्दा धेरै संक्रमण दैनिक ८० हजारभन्दा बढी देखिएको छ भने मृत्यु पनि तीन हजार आसपास भइरहेको छ । ब्राजिलपछि दोस्रोमा भारतमा दैनिक संक्रमण सबैभन्दा धेरै छ । त्यहाँ केही दिनयता ६० हजार संक्रमित भेटिएका छन् । यसपछि अर्जेन्टिना र कोलम्बियामा पछिल्लो समय संक्रमण फैलिएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार विश्वमा सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । त्यहाँ अहिलेसम्म तीन करोड ३४ लाख ९८ हजार मानिस संक्रमित भएका छन् भने छ लाख छ सय ८० जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
दोस्रो लहर आएपछि भारत सबैभन्दा प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा छ । त्यहाँ दुई करोड ९७ लाख मानिस संक्रमित भएका छन् भने तीन लाख ८१ हजारको मृत्यु भएको छ । भारतपछि ब्राजिल, फ्रान्स, टर्की, रुसलगातका महामारीको चपेटामा परेका छन् । कोरोना भाइरसविरुद्धको खोप अभियानलाई हेर्दा उच्च आय भएका देशहरुमा तीव्र रुपमा खोप दिइएको छ ।
जनसंख्याको आधारमा इजरायलले ८७ प्रतिशत मानिसलाई खोप लगाएको छ । साथै त्यहाँ सक्रिय संक्रमितको संख्या अहिले २३१ छ । त्यस्तै अमेरिकामा ४३ प्रतिशत, बेलायतमा ४४ प्रतिशत, जर्मनीमा २६ प्रतिशत, पोल्यान्डमा २५ प्रतिशत जनसंख्यालाई खोप दिइसकिएको छ । भारतमा भने जम्मा ३.५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij