वेबटिभी खबर
काठमाडौं । मेलम्चीका बाढीपीडितलाई काठमाडौं महानगरपालिकाले दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बिहीबार नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काठमाडौं महानगरका मेयर विद्या सुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् ।
मेलम्चीमा मंगलबार राति आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणमा महानगरले सहयोग गर्ने पनि महानगरले प्रतिवद्धता जनाएको छ ।
कागेश्वरी नगरपालिकाले दियो २० लाख
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाढीबाट प्रभावित भएको सिन्धुपाल्चोकका दुई पालिकालाई २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १०/१० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
बिहीबार नगरप्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले बताए ।
मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण हेलम्बु र पाँचपोखरीको लोर्केमा खसेको पहिरोले नदी थुनिएपछि मेलम्चीमा बाढी आउँदा मेलम्ची बजारक्षेत्रका सयौं घर डुबेका छन् भने खेतीयोग्य बालीनालीमा ठूलो क्षति पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij