वेबटिभी खबर
सर्लाही । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको अबको अभियान मिसन १५० रहेको बताएका छन् ।
आज सर्लाहीको लालबन्दीमा मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले उक्त अभियानको चर्चा गरेका हुन् ।
उनले २०८४ सालको निर्वाचनमा प्रतिनिधि सभामा १५० सिटको बहुमत ल्याएर सरकार बनाउने नेकपा एमालेको अभियान भएको प्रष्ट पारेका थिए ।
पार्टीको मधेश प्रदेश इन्चार्जसमेत रहेका भट्टराईले एमाले बाहेकका गठबन्धनहरूले देशलाई बर्वाद गर्ने भन्दा अरु काम गर्न नजानेको आरोप लगाए ।
मधेश प्रदेशका आठ जिल्लाका १०० भन्दा बढि पार्टी निकट संचारकर्मी तथा पार्टीका प्रचार विभागका पदाधिकारीको भेला लालबन्दीमा सम्पन्न भएको मधेश प्रदेश प्रचार विभागका सचिव चूडामणि बाग्लेले जानकारी दिए ।
एमालेको मधेश प्रदेश प्रचार विभाग हेर्ने विशेष जिम्मेवारी पाएका पार्टी केन्द्रीय सदस्य अरविन्द सिंहले मधेश प्रदेशमा पार्टीले चाँडै योजनाबद्ध रूपमा प्रचार कार्यलाई अगाडी बढाउने जानकारी दिए ।
मधेश प्रदेशमा इन्चार्ज भएर आउनु भएका पार्टी केन्द्रीय सचिव भट्टराई केही दिनदेखि मधेश प्रदेशका पार्टी कार्यक्रममा व्यस्त छन् ।
भोली हरिवनमा सर्लाहीका पार्टीका मुख्य जिम्मेवार नेताहरूबीच आगामी योजना निर्माणको विषयमा बैठक हुने भएको प्रचार विभाग सचिव वाग्लेले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij