वेबटिभी खबर
वाशिंटन । मुलुकमा कोभिड-१९ को संक्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन् ।
उनले ट्विटरमार्फत् सन्देश जारी गर्दै खोप नलगाएका अमेरिकी नागरिकलाई विना कुनै ढिलाई खोप लगाउन आग्रह गरे । धेरै स्थानहरूबाट खोप सेवा उपलब्ध भइरहेको बताउँदै उनले भने, 'हामीसँग यो भाइरसलाई परास्त गर्न अझ धेरै काम बाँकी छ । संक्रमण दरलाई कम गर्न खोप लगाउनुको विकल्प छैन ।' उनले संक्रमणका कारण अमेरिकामा लगभग छ लाख व्यक्तिको मृत्यु भएको बताए ।
महामारीका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेको बताउँदै उनले भने, अमेरिकालगायत विश्वका कुनै पनि मुलुकले महामारीका कारण ठूलो आर्थिक क्षति व्यहोरेको छ ।
अमेरिका खोप अभियानपछि महामारी नियन्त्रणका साथै आर्थिक वृद्धिको बाटोमा अग्रसर भइसकेको र स्वास्थ्यका हिसाबले पनि देशका अधिकांश भागमा अवस्था सामान्य भइसकेको उनले दाबी गरेका छन् ।
धेरै जसो देश सामान्य अवस्थामा फर्किएको छ र हाम्रो आर्थिक सुधारले विश्वलाई नेतृत्व गरिरहेको छ । कोभिड-१९ संक्रमणका कारण भएको मृत्युको संख्या उल्लेख्यरूपमा घट्दैछ । यद्यपि यसैमा सन्तुष्टि लिने अवस्था भने आइसकेको छैन ।
अमेरिकामा कोरोना भाइरसबाट अझै पनि औसत दैनिक ३७० व्यक्तिको मृत्यु भइरहेको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार राष्ट्रिय रूपमा आगामी जुलाई ४ सम्ममा ७० प्रतिशत बयस्क अमेरिकीहरूले खोपको कम्तिमा एउटा मात्रा लगाउने उद्देश्य राखेको छ । सरकारको यो उद्देश्य पूरा हुन सहज भने देखिएको छैन ।
राष्ट्रव्यापीरूपमा १८ बर्षभन्दा माथिका करिब ६४.५ प्रतिशत अमेरिकीले कम्तीमा खोपको एक मात्रा लगाइसकेका सीडीसीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij