वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरस संक्रमण परीक्षण गर्ने प्रयोगशालाको क्षमताभन्दा आधा मात्र व्यक्तिले कोभिड-१९ परीक्षण गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
व्यक्तिमा कोरोना भाइरस संक्रमणका लक्षण देखिए पनि विभिन्न कारण देखाउँदै परीक्षण नगराएका कारण संक्रमितको संख्या कमी देखिएको मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए ।
हाल ४४ जिल्लामा कोरोनाका ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी सक्रिय संक्रमित ३८ प्रतिशत बाग्मती प्रदेशमा रहेको प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए ।
‘हाम्रो परीक्षण क्षमताभन्दा आधाले मात्र परीक्षण गराउनु भएको देखिन्छ,’ मन्त्रालयले आइतबार गरेको मिडिया ब्रिफिङमा पाैडेलले भने, ‘गाउँ-गाउँमा गर्न मिल्ने एन्टिजेन परीक्षण गराउने पनि निकै कम हुनुहुन्छ ।’
सरकारले परीक्षण घटाएको भन्ने गरिए पनि डा.पौडेलले भने परीक्षण गराउने नै नआएको बताएका छन् । उनले लक्षण भएकालाई सरकारले नि:शुल्क परीक्षण गर्ने उल्लेख गर्दै लक्षण भएका सबैलाई परीक्षण गराउन आग्रह गरे ।
लक्षण भएकाले परीक्षण नगराउँदा कोरोना भएको अवस्थामा अन्यलाई पनि सर्ने जोखिम हुने भएकाले हेलचक्राइँ नगर्न उनले अनुरोध गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij