वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका-८ पचुईँकी ४२ वर्षीया गंगा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघ पीडित परिवारलाई १० लाख राहत रकम हस्तारण गरेका छन ।
वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए ।
गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो । सँगै घाँस काट्न गएका स्थानीयले भागेर ज्यान जोगाएका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रावधिक टोलीले अर्को दिन बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना पठाइएको थियो । खोजी गर्ने क्रममा चन्दको शव खप्टीनाला क्षेत्रमा भेटिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij