वेबटिभी खबर
कोरोना संक्रमणका कारण देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी छ । यस्तो समयमा बालबालिका घरमै बसिरहेका छन् । घरमै बस्दा शारीरिक व्यायाम कम भएकाले बालबलिकामा मोटोपनको समस्या आएको छ । मोटो बालबालिकामा मधुमेह, दम, मुटुरोग, निन्द्रा सम्बन्धी समस्याहरुको जोखिम बढी हुन्छ ।
इन्टरनेशनल जर्नल अफ ओबेसिटीमा प्रकाशित अनुसन्धानकाअनुसार दिनमा दुई पटक खानामा तरकारी र फलफूलको सेवन गर्नाले मोटोपनाको समस्यालाई २५ प्रतिशत कम गर्न सकिन्छ । अमेरिकी संस्था सेन्टर अफ डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) काअनुसार ६ देखि १७ वर्षको बच्चाले दैनिक १ घण्टा शारीरिक व्यायाम गर्नुपर्छ । सन्तुलिन खानपान र घरभित्र शारीरिक व्यायामलाई बढाएर एक्टिभ रहँदा तन्दुरुस्त रहन सकिन्छ ।
बालबालिकालाई मोटोपन हुनबाट कसरी जोगाउने ?
हार्वड स्कूल अफ पब्लिक हेल्थकाअनुसार बच्चामा मोटोपनको समस्या बढ्नुमा मोबाइल, टिभी मुख्य कारण रहेका छन् । धेरै समयसम्म टिभी, मोबाइल, कम्प्युटरको प्रयोग गर्दा बच्चामा मोटोपनको जोखिम बढ्छ । लामो समयसम्म टिभीको अगाडी बस्दा मधुमेह र उच्च मोटोपन बढ्ने सम्भावना हुन्छ ।
राम्रो बानीको विकास आफैंबाट गर्ने ?
बालबालिकामा राम्रो बानीको विकास गर्नपूर्व आफैंबाट सुरुवात गर्नुपर्छ । बालबालिकाको पहिलो पाठशाला भनेकै घर हो । स्कूलभन्दा अधिक समय घरमा बिताउने भएकाले बालबालिकाले राम्रो बानी, आचरण, अनुशासन घरबाट नै सिक्छन् । त्यसैले उनीहरुमा राम्रो बानीको विकास गर्नुपूर्व अभिभावक स्वयम्ले राम्रो आचरण, व्यवहार गर्न सिक्नुपर्छ । ठूलो मान्छेले जे गर्यो सानोले पनि त्यही सिको गर्ने भएकाले सधैं राम्रो बानी, व्यवहार गर्नुपर्छ ।
उमेर अनुसार खानपान
तीन वर्षको बालबालिकालाई १००० देखि १४०० सम्म, ९-१३ वर्षको किशाेर/किशाेरीलाई १४०० देखि २२०० सम्मको क्यालोरीको आवश्यकता पर्छ । त्यसैले उमेरअनुसार खानपानमा विशेष ध्यान दिनुपर्छ । यीनको खानामा यी वस्तुलाई मिलाउनुपर्छ ।
१. फलफूल र तरकारी
दैनिक फलफूल र तरकारी समावेश गरिएको खाना खाँदा भिटामिन, फाइबर आवश्यक मिनिरल्सको पूर्ति हुन्छ ।
२. मिश्रित ड्राई फ्रुट्स
समयाअनुकुल मात्रा मिलाएर ड्राई फ्रुट्स बालबालिकालाई खुवाउँदा क्याल्सियम, म्याग्नेसियमजस्ता तत्वहरु पाइन्छन् ।
३. अन्नः
खानामा अन्न समावेश गर्नुपर्छ । यसले हामीलाई बलियो र तन्दुरुस्त रहन मद्दत गर्छ ।
४. दुधजन्य खानेकुरा
दुधजन्य खानेकुरालाई मात्रा मिलाएर खानुपर्छ । यस्ता खानेकुराले हामीलाई स्वस्थ राख्छन् । खानापान अनुसार शारीरिक कसरत हुन पनि आवश्यक हुन्छ । त्यसैले जे खान्छौं त्यहि अनुरुप शारीरिक व्यायाममा पनि जोड दिनुपर्छ ।
एजेन्सीको सहयोगमा
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij