वेबटिभी खबर
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारकाे मुद्दामा दोषि ठहर भएका छन् ।
सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको आरोप पुष्टी भएको भन्दै अदालतले ट्रम्पलाई ५० लाख डलर क्षतिपुर्ति दिन आदेश दिएको हो ।
यो एउटा सिभिल अदालतले गरेको फैसला हो । अलजजिराका अनुसार डोनाल्ड ट्रम्पले सन् १९९० को दशकमा लेखिका ई-जीन क्यारोललाई यौन दुर्व्यवहार गरे र त्यसपछि उनलाई झूटो भन्दै बदनाम गरे ।
संयुक्त राज्य अमेरिकाको एक निर्णायक मण्डलले पूर्व अमेरिकी राष्ट्रपतिलाई कानुनी झटका दिने निर्णय गरेको हो ।
बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रूममा ई-जीन क्यारोललाई बलात्कार गरेकोमा भने ट्रम्प जिम्मेवार नभएको पाइयो तर निर्णायक मण्डलले लेखिकाको आरोपलाई ‘ठगी र झूट’ भनेकोमा ट्रम्पलाई मानहानिको लागि जिम्मेवार पनि मानिएको छ ।
यौन उत्पीडनका लागि ट्रम्प कानुनी रूपमा जिम्मेवार भएको यो पहिलो पटक हो । ६ जना पुरुष र तीन महिलाको निर्णायक मंगलबार तीन घण्टाभन्दा कम छलफलपछि आफ्नो निर्णयमा पुगेको हो ।
सुश्री क्यारोलले फैसलापछि लिखित बयानमा भनेकी छिन्, ‘आज संसारलाई अन्ततः सत्य प्रमाणित हुन पुगेको छ । यो जित मेरो लागि मात्र होइन, विश्वास नगरेको कारणले दुःख भोग्ने हरेक महिलाको लागि हो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij