वेबटिभी खबर
बाँके । यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जंगलमा अहिले काफल पाकिरहेको छ ।
पहाडी जंगलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ । नेपालगन्ज, कोहलपुरलगायतका बजारमा यतिबेला व्यापारी काफल बिक्री गर्न व्यस्त छ ।
काफल बिक्री गरेर व्यापारीले दैनिक दुई हजार आम्दानी हुने गरेको बताउँछन् । रोल्पाबाट दाङ हुँदै नेपालगञ्जमा काफल बिक्री गर्न आएका व्यापारी खगेन्द्र बुढामगरले दैनिक चारदेखि पाँच क्यारेट (डाला)काफल बिक्री गर्ने गरेको बताए ।
काफलले नेपालगञ्जमा राम्रो बजार पाएको उनको भनाइ छ । काफल बिक्रीका लागि घोराहीबाट नेपालगजमा आएका अर्का व्यापारी हरि नारायण चौधरीले यसबाट राम्रो आम्दानी भएको बताए ।
काफल स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । काफल पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कबिराम बढाथोकी बताउँछन् ।
पहाडमा फलेको काफलभित्रको पोषक तत्वलाई जोगाई ब्राण्डिङ गरेर बिक्री गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका पूर्ववडाध्यक्ष सुनिल सिंह हमालको भनाइ छ ।
काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको दुखाइ निको हुने वरिष्ठ आयुर्वेद डा.रामबहादुर बोहराले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij