वेबटिभी खबर
काठमाडौं । एसईई परीक्षा खारेज हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सोमबार (२४ जेठ) शिक्षा पत्रकार समुहले गरेको ‘एसईई के गर्ने ?’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले एसईई खारेज गर्नुको विकल्प नभएको धारणा व्यक्त गरेका छन् ।
शिक्षाविद् डा.विष्णु कार्कीले संविधान जारी भएर लागू भएकै दिनदेखि एसईई खारेज हुनुपर्ने बताउँदै शिक्षा मन्त्रालयको असक्षम नेतृत्व र कर्मचारीको प्रवृत्तिले गर्दा एसईईका नाममा केही व्यक्तिलाई राष्ट्रिय परीक्षा बोर्डमा जागिर दिने काम मात्रै भइरहेको आरोप लगाए ।
‘जुन दिन संविधान लागूभयो । माध्यामिक शिक्षा कक्षा १२ सम्म पुग्यो । त्यही दिनदेखि एसईईको औचित्य छैन, खारेज गर्नुपथ्र्यो’, उनले भने, ‘तर हामीकँहा कानुनी अड्चन देखाएर भइरहेकै छ । यो संविधानको बर्खिलाप हो । विद्यार्थी र अभिभावकमाथि अन्याय हो । र उपलब्धी विहीन छ ।’ प्रा.डा.दिव्यमान कर्माचार्यले एसईई खारेज गर्नेबारे पटक-पटक छलफल र कुरा उठेपनि सरकारले गम्भीरताका साथ नलिएको आरोप लगाए ।
‘एसईईका विषयमा पटक-पटक छलफल र अध्ययन भएको छ । प्रतिवेदन पनि तयार भएका छन्’, उनले भने, ‘तर कार्यान्वयन भएन । शिक्षा मन्त्रालयले यसबारे सुन्नै चाहेन । एसईईको औचित्य उहिल्यै सकिसकेको हो । यसलाई खारेज गर्न ढिलाई गर्नुहुन्न ।’
कार्यक्रममा राष्ट्रिय अभिभावक महासंघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले एसईईका नाममा विद्यार्थीबाट रकम उठाएर आर्थिक शोषण गर्ने काम भइरहेको बताए । विद्यार्थीबाट रकम उठाउने, फेरि सरकारले राष्ट्रिय परीक्षा बोर्डलाई बजेट दिने कार्यले एसईई विद्यार्थीको सिकाई बढाउने भन्दा राज्यका लागि बोझ बनेको उनको भनाइ थियो । विद्यार्थीलाई मानसिक तनाव दिने, अभिभावकलाई आर्थिक भार पार्ने र जहिल्यै हाउगुजी बनाउने काम भएको भण्डारीले बताए ।
परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले शिक्षा ऐनका कारण एसईई खारेज गर्न नसकिने र तत्कालै हुने सम्भावना पनि नरहेको बताए । शिक्षा ऐनमा एसईई सञ्चालन गर्नुपर्ने प्रावधान रहेको र नयाँ ऐन नल्याएसम्म यो पद्धति हटाउन नसकिने उनको तर्क छ ।
‘एसईई एउटा परीक्षा मात्रै होइन, पद्धति हो । पद्धति हटाउन सकिदैन’ पौडेलले भन्ने, ‘यसका विषयमा धेरैपटक शिक्षा मन्त्रालय र मन्त्रीज्यूँसँग कुराकानी गरेको छु । तर सकिएन । त्यसैले प्रधानमन्त्रीसँग लबिंग गर्नुपर्यो । यसमा परीक्षा बोर्डले केही गर्न सक्दैन ।’
कोभिड–१९ का कारण सरकारले यस वर्षको एसईई स्थगित गरेर आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । गएको वर्ष पनि कोभिडका कारण एसईई परीक्षा स्थगित गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij