वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एक-एक थान साइकल उपलब्ध गराइएको हो ।
नगरपालिका-७ ले १३ वटा वडाका स्वास्थ्य स्वयमसेविका र दुईजना कार्यालय सहयोगीलाई साईकल वितरण गरेको वडाध्यक्ष थानेश्वरप्रसाद भट्टले बताए ।
‘स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरेका हौँ’, अध्यक्ष भट्टले भने, ‘यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।’
त्यसैगरी दुईजना कार्यालय सहयोगीलाई पनि कार्यालयको कामकाजमा सहयोग पुगोस् भनेर साइकल वितरण गरेको उनको भनाइ छ । स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले साइकल वितरण गरेको बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले बताइन् ।
‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उपप्रमुख जोशीले भनिन्, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’ वडा कार्यालयको एक लाख ५० हजार बजेटमा साइकल वितरण गरिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij