वेबटिभी खबर
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरीले उच्च पेसागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको बताएका छन् । मंगलबार प्रधान कार्यालयको निरीक्षण भ्रमणका साथै अधिकृत छलफल तथा निर्देशन कार्यक्रम समापनमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
‘शान्ति, सुरक्षा, प्रतिबद्धताको मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको जिउधनको सुरक्षा, सीमा सुरक्षा, राजश्व सुरक्षा, औद्योगिक सुरक्षा कायम गर्न अहोरात्र खटिएर सेवा प्रदान गर्ने कार्य सराहनीय रहेको छ,’ गृहमन्त्री श्रेष्ठले भने,‘राज्यले सुम्पिएका जिम्मेवारीहरू साथसाथै सशस्त्र प्रहरी बलले भैपरि आउने विषम परिस्थितिहरूमा समेत आफ्नो क्षमता, व्यावसायिकता र उच्च पेसागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको छ ।’
गृहमन्त्री श्रेष्ठले प्रधान कार्यालयमा देशभरमा कार्यरत वरिष्ठ अधिकृतहरू भेलामा सङ्गठनलाई कसरी गतिशील र सक्षम बनाउन सकिन्छ भनी छलफल गर्न गोष्ठी आयोजना गर्ने कार्य प्रशंसनीय रहेको बताए । उनले स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन अझ मिहेनतका साथ कार्यसम्पादन गरी भ्रष्टाचार र आर्थिक अनुशासनका सवालमा कुनै पनि सम्झौता नगरी निर्मम रूपमा प्रस्तुत हुन समेत निर्देशन दिए ।
गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सङ्गठनात्मक संरचना, काम कर्तव्य र जिम्मेवारीअन्तर्गतका विषयहरूमा शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, दङ्गा नियन्त्रण, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको कार्यान्वयन गर्ने क्रममा सम्पादन गरिएका समग्र गतिविधिहरू समेटेर गरिएको प्रस्तुतीकरणले सङ्गठनको बारेमा थप प्रष्ट भएको बताए ।
उनले भने,‘सशस्त्र प्रहरी बल, नेपालसँग सम्बन्धित कानुनी विषयहरू (ऐन, नियमावली, कार्यविधि, मापदण्ड) लाई बदलिँदो परिवेशमा समसामयिक परिमार्जन, पुनरावलोकन गर्ने र आवश्यकता अनुसार नयाँ कानुन तर्जुमा गर्नुपर्ने हुन्छ । सङ्गठनलाई नेपाल सरकारले तोकेको जिम्मेवारी अनुरूपको कार्य प्रभावकारी ढङ्गले सम्पादन गर्नका लागि मौजुदा दरबन्दी संरचनाको पुनर्संरचना गर्ने गरी सङ्गठन तथा व्यवस्थापन गर्ने कार्यलाई अगाडि बढाउन गृहमन्त्रालयको आवश्यक पहलकदमीमा कुनै कमी हुँदैन ।’
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा आफैंमा जटिल, संवेदनशील र चुनौतीपूर्ण विषय भएको बताए । साथै उनले अन्य सुरक्षा निकायहरूसँग निकट समन्वयका साथ राज्य प्रदत्त कार्यादेशहरूलाई कुशलतापूर्वक बहन गर्दै नेपाल सरकार तथा मजकुर गृह मन्त्रालयका नीति, कार्यक्रम, आदेश, निर्देशनहरुलाई अक्षरशः पालना गरी इमान्दारिताकासाथ परिचालन भइरहेको बताए ।
कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम, वंशीराज दाहाल, गृहमन्त्रालयका सह–सचिव तथा प्रवक्ता, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारी, तालिम शिक्षालयका समादेशकहरु लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा बिल्लादार जवानहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij