वेबटिभी खबर
काठमाडौं । पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ ।
हिजो आइतबार २६ दशमलव ८० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २४ दशमलव ६८ अंकले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार ९५१ दशमलव २१ विन्दुमा कायम भएको छ ।
आज दुई सय ५६ कम्पनीको ३३ लाख ६९ हजार एक सय ३६ कित्ता शेयर २६ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा एक अर्ब १६ करोड २५ लाख तीन हजार बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ६५ दशमलव ०१ अंकले घटेको छ ।
त्यस्तै निर्जीवन बीमा समूहको उपसूचक ८२ दशमलव ७४ अंकले र लघुवित्त समूहको उपसूचक ६० दशमलव ८४ अंकले घटेको छ ।
बैंकिङ समूह २० दशमलव ३६, विकास बैंक समूह ३७ दशमलव २२, वित्त समूह १३ दशमलव ८९, होटल तथा पर्यटन समूह २५ दशमलव १० र जलविद्युत् समूह १६ दशमलव ३५ अंकले घटेको छ ।
त्यसैगरी लगानी समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन समूह ४४ दशमलव १२, व्यापार समूह ३० दशमलव ६१ र अन्य समूह १३ दशमलव ७४ अंकले घटेको नेप्सेले जनाएको छ ।
आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ६२ अंकले घटेको छ ।
आज एनआइसी एसिया बैंक लिमिटेडको छ करोड २४ लाख ५६ हजार सात सय ४५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा अरुण भ्याली हाइड्रोपावर लिमिटेडको एक लाख ६७ हजार पाँच सय ३९ कित्ता शेयर किनबेच भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij