वेबटिभी खबर
काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा भोलि (शनिबार)देखि हरेक शनिबार सरसफाइ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्रालय मातहतका २१ निकायका कर्मचारीले हरेक शनिबार दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने तयारी गरेको छ ।
उक्त सरसफाइ अभियान तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ । पशुपति क्षेत्र विकास कोषले मात्रै नियमित सफाइ गर्न नसकेपछि मन्त्रालयको निर्देशनमा हरेक शनिबार दुई घण्टा कर्मचारीले सरसफाइ गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए ।
उनका अनुसार मन्त्रालय र मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको छ ।
कर्मचारीसहितको उक्त सामूहिक सरसफाइमा पशुपति क्षेत्र विकास कोषले सरसफाइमा प्रयोग हुने सरसामग्री उपलब्ध गराउनुपर्ने मन्त्रालयले निर्देशन दिएको पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसंगम जेठाराले जानकारी दिए ।
मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सबै निकायलाई सरसफाइमा सहभागिताका लागि निर्देशनसमेत दिएको बताइएको छ ।
उक्त सरसफाइ अभियानमा हरेक शनिबार बिहान पशुपति सरसफाइमा पर्यटन विभाग, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारी सहभागी हुने बताइएको छ ।
यसैगरी पर्यटन बोर्ड, हनुमानढोका दरबार संग्राहलय हेरचाह विकास समिति, पाटन दरबार संग्राहलय हेरचाह विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थान प्रतिष्ठान, नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति, तारागाउँ विकास समिति, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, नेपाल पञ्चांग निर्णायक विकास समिति र बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र कर्मचारीसमेत सहभागी हुने भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij