वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश नं १ सम्मेलनको मंगलबार उद्घाटन गर्दै उनले राष्ट्रहित र जनताको सेवाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिएकी हुन् ।
उपाध्यक्ष भुसालले संघीय निजामती ऐन आउन नसकेकामा दुःख व्यक्त गरिन् । उनले भनिन्, ‘अहिले संघीय निजामती सेवा ऐन आउनुपर्छ र त्यसमा कर्मचारीहरूको हकहित एवं सामूहिक सौदाबाजी गर्ने ट्रेड युनियनका अधिकार समावेश हुनुपर्छ ।’
यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐन स्वीकार गर्न आग्रह गर्दै यसबाट कर्मचारीतन्त्रमा देखिएका समस्या आधा समाधान हुने विश्वास व्यक्त गरे । उनले सबै कुरा ऐनमा एकै पटक नआए पनि यसलाई क्रमशः सुधार गर्दै लैजान सकिने बताए ।
मन्त्री मोदीले कर्मचारीभित्र देखिएका विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य गर्न प्रतिबद्ध रहेको चर्चा गर्दै सम्पूर्ण निजामती कर्मचारीको अभिभावक भएको आधारमा न्यायपूर्ण ढंगले कर्मचारीहरूको क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले निजामती सेवाका २५ जना अधिकृत तहबाट बढुवा भएका उपसचिवलाई स्थानीय तहमा सरुवा गरिएको जानकारी दिए ।
संगठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, माओवादी केन्द्रका केन्द्रीय सदस्य सावित्रीकुमार काफ्ले, संगठनका केन्द्रीय उपाध्यक्ष अम्बादत्त भट्ट, केन्द्रीय सचिव लोकेन्द्र चौलागाईं, प्रदेश अध्यक्ष नरमाया भट्टराईलगायतले अधिकृत र सुब्बा तहमा तलबमा रहेको विभेद हटाउनुपर्ने सुझाव दिएका थिए ।
सोही अवसरमा पूर्वमन्त्री भुसालले संगठनद्वारा प्रकाशित ‘लाली किरण’ पुस्तकको विमोचन गरेकी थिइन् । प्रदेश सम्मेलनमा १४ जिल्लाका संगठन आबद्ध कर्मचारीहरूको सहभागिता रहेको छ । सम्मलेनले आज नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij