वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र यहाँको बेदकोट नगरपालिकामा निर्माण हुने छेला औद्योगिक क्षेत्रको कामले गति लिन थालेको छ ।
एक साताअघि कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह स्थलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राथमिकतामा राख्दै आयोजनास्थलको निरीक्षण गरेसँगै काम अघि बढेको हो ।
भारत सरकारको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँ भारतीय ‘राइट्स कन्सटेन्सी’ ले फिल्ड सर्वे गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ ।
भारतीय कम्पनीले छ महिनामा डिपिआर तयार गरी बुझाउने भने पनि दुई/तीन महिनाभित्रै आउनेमा आशावादी नेपाली पक्ष छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रधानमन्त्रीस्तरबाटै उक्त आयोजना प्राथमिकतामा परेपछि आयोजनाले गति पाउने बताए ।
‘तोकिएको समयभन्दा ढिलो गरेर आयोजनाका प्रक्रियागत काम अब रोकिनुहुन्न’, कार्यकारी निर्देशक गजुरेलले भने, ‘हाम्रो समितिलाई भारतीय पक्षले ‘फोकल एजेन्सी’का रूपमा तोकेर सुचना आदानप्रदानको काम गर्दैछ ।’
यसअघि वीरगञ्ज, भैरवा, विराटनगर लगायतका स्थानका सुक्खा बन्दरगाहको डिजाइनसमेत भारतीय ‘राइट्स कन्सटेन्सी’ले नै गरेको थियो ।
यस्तै यातायात विकास समितिका अनुसार दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँच चौकी आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाइएको छ ।
‘अहिले राय, सुझाव संकलनका लागि एकहप्ते सूचनासमेत जारी भएको छ’, गजुरेलले भने, ‘स्थानीयस्तरबाट प्राप्त राय, सुझावसहित हामी मन्त्रालयमा पेस गर्छौं ।’
आयोजनास्थल निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षले बनाउने प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका थिए ।
उक्त विषय आफ्नो आसन्न भारत भ्रमणका क्रममा उच्च प्राथमिकतामा राख्ने उनको भनाइ थियो । दोधारा चाँदनी नगरपालिकाको गौरीशंकर र मायापुरी सामुदायिक वन क्षेत्र अधिग्रहण गरी बन्दरगाह निर्माण भइरहेको हो ।
बन्दरगाह निर्माणको प्रक्रिया थाल्न सरकारले चालु आर्थिक वर्षमा एक अर्ब बजेटसमेत विनियोजन गरेको छ । वन क्षेत्रको प्रस्तावित करिब दुई सय ८० बिघा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, सुरक्षा निकाय, पार्किङ याड, क्वारेन्टाइनलगायतका भौतिक संरचना निर्माण हुनेछन् ।
बन्दरगाह क्षेत्र महाकालीमा निर्माण भएको चार लेनको पक्की पुलदेखि एक किलोमिटर पश्चिमतर्फको दुरीमा पर्छ । यस्तै अढाइ दशकभन्दा बढी समयदेखि चर्चामा मात्रै सिमित रहेको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको स्थापनाको काम अग्रसरताका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सक्रियता बढाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij