वेबटिभी खबर
काठमाडौं । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्वप्रमुख काठमाडौं आइपुगेका छन् । काठमाडौं आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग रहेका छन् ।
नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्वप्रमुखहरूले भाग लिने छन् ।
त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
सैनिक मुख्यालय जंगी अड्डामा यही फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उनीहरूको भेटघाट र छलफल हुनेछ ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सोही दिन साँझ जंगी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरूको सहभागिता रहनेछ ।
नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने अनुपम परम्परा छ । नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाउँदैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij