Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सिन्धुलीमा जडीबुटी मासिँदै

सिन्धुलीमा जडीबुटी मासिँदै

  • 286
    SHARES
  • सिन्धुलीमा जडीबुटी मासिँदै

    सिन्धुली । स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवर्द्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजंगल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढङ्गले संकलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका छन् ।

    जडीबुटी संकलन र प्रशोधनका लागि सीप तथा प्रविधिको अभावका साथै स्थानीयमा ज्ञान र चेतनाको पनि कमी भएको कमलामाई नगरपालिका–५ सिलामेकी भीमकुमारी थापामगर बताए ।

    सिन्धुलीमाडीमा ३० वर्षदेखि जडीबुटी बेच्दै आएकी उनले भनिन्, ‘बहुमूल्य जडीबुटी गाई, भैँसीलाई घाँस र स्याउलाको रुपमा प्रयोग भइरहेका छन् । महाभारत क्षेत्रमा सिस्नो, चिराइतो, पाखनभवेद, भुर्केस, हर्रो, बर्रोलगायत जडीबुटी त्यसै खेर गइरहेका छन् ।’

    जिल्लामा भएका जडीबुटी संकलन र प्रशोधन नहुँदा महँगो मूल्यमा बाहिरीबाट किनेर बिक्री गर्नुपरेको थापामगरकाे भनाइ छ । स्थानीय जडीबुटीको महत्व बुझाउन नसक्दा र यससम्बन्धी स्थानीयमा ज्ञानको अभाव हुँदा जडीबुटी संरक्षणविहीन अवस्थामा छन् ।

    महाभारत तथा चुरे क्षेत्रमा प्रशस्त मात्रामा पाइने जडीबुटी जथाभावी संकलन गर्दा बीउ नै मासिँदै गएको छ । जथाभावी जडीबुटी संकलन गरि सदरमुकाम सिन्धुलीमाढीसम्म ल्याई दुई/चार सय आम्दानी लिए पनि व्यवस्थितरूपमा संकलन भने हुन सकेको छैन ।

    उनले भनिन्, ‘स्थानीय तह र सम्बन्धित निकायले जडीबुटी संकलन, प्रशोधन र संरक्षणमा ध्यान दिनसके आयस्तर बढाउन टेवा पुग्ने थियो ।’

    सिन्धुली प्राकृतिक जडीबुटी र वनस्पतिले धनी छ । उत्तरी महाभारत शृङ्खला, चुरे, भित्री मधेस तथा बेँसी र खोच क्षेत्रमा भौगोलिक तथा वातावरणअनुसार फरक-फरक प्रजातिका जडीबुटी पाइन्छन् । यसको अव्यवस्थित संकलन र चोरी तस्करी हुने गरेको छ ।

    डिभिजन वन कार्यालयका अनुसार जिल्लामा एक सय तीसभन्दा बढी प्रजातिका बहुमल्य जडीबुटी पाइन्छन् । साल, खयर, बर्रो, जामुन, कर्मा, चाप, तेजपातजस्ता महत्वपूर्ण रूख प्रजाति र चिराइतो, जिवन्ती, पाखनवेद, अमला, हर्रो, टिमुर, सिकाकाइ, कुरिलो, लोक्ता तीतेपातीजस्ता जडीबुटी महाभारत शृङ्खलाका २५ बढी ठाउँमा पाइन्छन् ।

    यसको निकासी तथा प्रशोधनमा राज्य र निजी क्षेत्रले चासो नदिँदा बर्सेनि मूल्यवान् जडीबुटी खेर जाने गरेको छ । स्थानीय तहसँग जडीबुटी संरक्षण र व्यवस्थापनसम्बन्धी कुनै योजना तथा कार्यक्रम छैन ।

    औषधिजन्य चिराइतो, सिनकौली, लोठसल्लाजस्ता विभिन्न प्रजातिका जडीबुटी तथा वनस्पति गोलञ्जोरमा प्रशस्त मात्रामा पाइने भए पनि यसको उचित संकलन र व्यवस्थापन अझैसम्म हुन नसकेको गाउँपालिका अध्यक्ष शंकरराज बराल स्वीकार गर्छन् ।

    जिल्ला समन्वय समिति, सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले जडीबुटीसम्बन्धी चेतना स्थानीयवासीसम्म पुर्याउन नसकिएको बताइन् । ज्ञानको अभावमा आफ्नो घर, आँगनमा भएका औषधिजन्य जडीबुटी खेर जाने गरेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # सिन्धुली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij