वेबटिभी खबर
सर्लाही । आयोजक बाग्मती युवा क्लव सातौँ राजर्षी जनककप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा धरान फुटबल क्लवलाई ५–१ गोल अन्तरले पराजित गर्दै बाग्मती युवाक्लव सर्लाहीले सहज जित निकालेको हो ।
सुरुदेखि नै बाग्मती धरानमाथि हावी देखिएको थियो । खेलको सुरुवाती मिनेटमै आकर्षक अवसर बनाएको बाग्मतीले सशक्त प्रहार गर्न चुक्यो । बाग्मतीका लागि खेलको १३ औँ मिनेटमा बिमल घिसिङले पहिलो गोल गरे । सृजन गौतमको क्रसपासमा घिसिङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको ४१ औँ र ४३ औँ मिनेटमा बाग्मतीका सृजन गौतमले लगातार व्यक्तिगत दुई गोल गरे । सृजनले धरानका रक्षापंक्ति र गोल रक्षकलाई छलाउँदै आकर्षक पहिलो गोल गरे लगतै बिमल घिसिङको पासमा गौतमले दोस्रो गोल गरे । सृजनको व्यक्तिगत दुई गोलमा बाग्मती पहिलो हाफमा ३–० को अवस्थामा पुगेको थियो ।
धरान लगातार बाग्मतीसामु निरीह देखियो । खेलको ५७ औँ मिनेटमा बाग्मतीका खेलाडी सृजन गौतमको आकर्षक क्रसपासमा धरानले बाग्मतीलाई उपहार गोल दिएपछि बाग्मती ४–० को अवस्थामा पुग्यो । गौतममो क्रसबल धरानका रक्षापंक्तिका खेलाडिको जिउमा छुँदै गोलमा परिणत भयो ।
खेलको ६१ औँ मिनेटमा पेनाल्टी मार्फत् धरानका दोर्जे तामाङले सान्त्वना गोल फर्काए पनि हार भने टार्न सकेनन् । ‘डि’ बक्सभित्र बाग्मतीका खेलाडीले ‘ट्याकल’ गरेपछि धरानले पेनाल्टी पाएको थियो । तामाङले पोनाल्टी बललाई सजिलै बाग्मतीको जालीमा चुमाए ।
खेलको ८१ औँ मिनेटमा बाग्मतीको लागि अनिल राना मगरको पासमा दिपेश चाम्लिङ राईले पाँचौँ गोल गरे । बाग्मतीका लागि व्यक्तिगत दुई गोल गरेका सृजन गौतम म्यान अफ दि म्याच घोषित हुँदै १० हजार पुरस्कार पाए । जितसँगै आयोजक बाग्मतीले क्वाटरफाइनलमा मच्छिँन्द्र फुटबल क्लव काठमाडौंसँगको भेट पक्का गरेको छ ।
आइतबारको पहिलो क्वाटरफाइनल खेलमा साविक विजेता पिप्ले युवाक्लव हेटौँडा र जावलाखेल युथक्लव ललितपुरबीच प्रतिस्पर्धा हुने भएको छ । साविक विजेता पिप्ले सीधै बाइपाएर क्वाटरफाइनलमा प्रवेश गरेको हो भने जावलाखेल युथक्लव ललितपुर विभागीय सशस्त्र प्रहरीको एपिएफ क्लवलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बाग्मती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा चलिरहेको प्रतियोगिताको फाइन खेल फागुन ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको उपाधि होडमा अन्तर्राष्ट्रिय पाहुना टोली र आयोजकसहित १२ टिम सहभागी रहेको आयोजक बाग्मती युवाक्लवका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij