वेबटिभी खबर
सर्लाही । सडन डेथामा भाग्यमानी सावित हुँदै नवजनजागृति युवा क्लव सिमरा जारी सातौँ राजर्षी जनककप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।
बिहीवार बाग्मती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सम्पन्न खेलमा सडन डेथमा नेपाल पुलिस क्लवलाई ६–५ गोल अन्तरले पराजित गर्दै नव जनजागृति युवा क्लव प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको हो ।
निर्धारीत ९० मिनेट र थप २० मिनेटको समयमा समेत गोलरहित बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।
ट्राइब्रेकरमा समेत ५–५ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट निकालिएको हो । सडन डेथमा नेपाल पुलिसका अजित भण्डारी अभागी सावित भए ।
उनले प्रहार गरेको पेनाल्टी सुट नवजनजागृति युवा क्लवका गोलरक्षक रोहन मगरले सजिलै रोकेका थिए । त्यसपछि नवजनजागृति युवा क्लवका अस्मित चौधरीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भयो ।
उनको प्रहार नेपाल पुलिसका गोलरक्षक संजित श्रेष्ठको हातमा छुँदै बाहिरिएको थियो । सडन डेथमा टिमका लागि नायक सावित भएका नवजनजागृति युवा क्लवका गोलरक्षक रोहन मगर म्यान अफ दि म्याच घोषित हुँदै पुरस्कार प्राप्त गरे ।

जितसँगै नवजनजागृति युवा क्लव सिमराले फागुण २ गते हुने क्वाटरफाइनल खेलमा संकटा फुटबल क्लव सँगको भेट पक्का गरेको छ ।
नेपाल पुलिस क्लव पूर्वराष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको थियो भने नवजनजागृति सिमरा पनि केही अनुभवी खेलाडीका साथ प्रतिस्पर्धामा थियो ।
दुबै टोलीले खेल अवधिभर बनाएका आकर्षक अवसरहरू सदुपयोग गर्न सकेनन । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै टोलीले पालै पालो विपक्षीलाई दबाबमा राखेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij