वेबटिभी खबर
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन् ।
शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले बुद्धकालीन सभ्यताको संरक्षण गर्दै बृहत्तर लुम्बिनीको विकास जरूरी रहेको बताएका हुन् ।
उनले लुम्बिनी गुरुयोजनाका लागि आवश्यक बजेटको व्यवस्थापनमा कुनै कमी नहुने बताए । उनले भने, ‘गुणस्तर र समयलाई ध्यान दिँदै लुम्बिनीसँग जोडिएका बुद्धकालीन सम्पदासहित बृहत्तर लुम्बिनी गुरुयोजना निर्माण अगाडि बढाएका र्छौँ ।’
गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसबाट समग्र लुम्बिनीको विकासमा टेवा पुग्ने बताए । उनले तराईका समथर भूमिमा उत्पादन तथा रोजगारी वृद्धि गरि देशको कूल ग्रार्हस्थ्य उत्पादनमा सरकारले जोड दिइरहेको बताए ।
उनले भने, ‘भेरी बबई सिँचाइ आयोजना, राप्तीको पानी कपिलवस्तुमा पुर्याउने, नौमुरे आयोजना, कालीगण्डकी तिनाउ डाइभर्सनलगायत आयोजनाबाट पश्चिम तराईमा कृषि उत्पादनमा टेवा मिलेको छ ।’
मन्त्री पौडेलले बाँकेको कोहलपुर, दाङ उपत्यका तथा बुटवलको भैरहवामा गरि लुम्बिनीमा तीनवटा आधुनिक र व्यवस्थित सहरसहितको महानगर बनाउने तयारीमा सरकार रहेको जानकारी दिए ।
लुम्बिनी प्रदेश निजी क्षेत्रका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै मन्त्री पौडेलले यो क्षेत्र उद्योगी र व्यवसायीका लागि उर्वर थलोका रूपमा विकास भइरहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij