वेबटिभी खबर
काठमाडौं । वर्तमान सरकारमा चारजना उपप्रधानमन्त्रीको नियुक्तिले धेरै प्रश्न उब्जाएको छ । चार–चार जना उपप्रधानमन्त्री किन ? के यो राज्यको आवश्कता हो ? आम नेपालीको यो प्रश्नमा कतैबाट उत्तर आउने अपेक्षा भने छैन ।
हुन त नेपालमा धेरै कुरो लथालिंग छ । कुनै काम समयमा हुँदैन । विकास निर्माणका काम त झन् तोकिएको समयमा हुने आशा जनताले त्यागी सके । नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी त समयमै बन्दैन ।
हो, अब यत्रा उपप्रधानमन्त्री बनाएपछि न काठमाडौंलाई मधेससँग जोड्ने फास्टट्रयाक छिटो पो बन्छ की ? विकास निर्माण द्रूत गतिमा पो हुने हो की ? आम जनताका काम छिटोछरितो पो हुने हुन कि ? नभए राज्यलाई खर्चमात्र बढाएर केका लागि यति धेरै उपप्रधानमन्त्री ?
हुँदा हुँदा मन्त्रालय फुटाएर धेरै मन्त्री बनाउने हल्ला पनि व्यापक छ । सरकारले उपप्रधानमन्त्री र मन्त्रीहरू धेरै बनाएर जनताको काम छिटोछरितो गर्न खोजेको होला त ? जनताप्रति उत्तरदायी भएर जवाफ दिनुपर्ने भए यो सरकारले के भन्थ्यो होला ? यहाँ प्रश्नहरू जवाफ नपाएर सहिद हुने परम्परा नै छ ।
नेपाली कांग्रेस, एमाले र नेकपा माओवादीको वर्तमान नेतृत्वसँग त जनताले खासै आशा गरेका छैनन् । यी पार्टीले नेतृत्व गरेको सरकारको काम जनताले हेरी र भोगिसकेका छन् । सरकार बनाउन र टिकाउनका लागि जे पनि गर्दै आएका यी दलले जनताका लागि केही नगर्ने निश्चित नै छ तर जनताले आशा गरेर एकै पटक चौँथो ठूलो दल बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका अध्यक्ष रवि लामिछानेले पनि उपप्रधानमन्त्रीमा लोभ देखाए ।
उनलाई उपप्रधानमन्त्री चाहिएपछि सरकारमा सहभागी रास्वपाभन्दा ठूला दल एमाले र माओवादीलाई त स्वभाविक रूपमा चाहिने नै भयो । रविले मर्यादाक्रम भन्दा पनि कामलाई प्राथमिकता दिनु पर्ने बेला हो किनकी उनीमाथि जनताले आशा राखेको यो चुनावमा उनको पार्टीले भोट पाएबाटै स्पष्ट भएको छ । रविले उपप्रधान नझुण्ड्याइकन गृहमन्त्री मात्र बनेको भए के बिग्रन्थ्यो ? रविलाई मर्यादाक्रमको कुनै जरुरी थिएन । उनलाई त जनताले दिएको मायाले माथिल्लो मर्यादामा पुर्याएकै थियो । हुनत् रविले आफूलाई उपप्रधानमन्त्री नचाहिएको सार्वजनिक रुपमा बताइसके । तर पनि उनले उपप्रधानबाट हट्न चाहेमा सहजै सक्ने अवस्था छ । आफ्नो बोलिलाई व्यवहारमा परिणत गर्न उनलाई कुनै कठिनाइ छैन । अब हेर्न बाँकी उपप्रधान झुण्ड्याइराख्छन कि हटाउँछन भन्ने हो ।
उनले त ‘मलाई जनताको पक्षमा सकारात्मक काम गर्न कतैबाट हस्तक्षेप नहोस्, मन्त्री मात्र भए पुग्छ, राज्यलाई मेरो पदका कारण बढी भार नपरोस्’ भनेर भन्नु पर्थ्याे । पदमा आसक्ति नदेखाएर उदाहरण बनेको भए उनको उचाई उपप्रधानमन्त्री पदले दिएको मर्यादाक्रम भन्दा माथि हुन जान्थ्यो ।
प्रधानमन्त्रीय प्रणाली भएको हाम्रो मुलुकमा त्यसभन्दा मुनीका पद राष्ट्रिय मर्यादाक्रमका लागि मात्र हो । कतैबाट हस्तक्षेप नभइ काम गर्न पाउने अवसर मुख्य हो ।
जनताले आशा देखाएको अर्का व्यक्ति हुन उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन । उनी राप्रपाको नेतृत्वमा आएपछि उनको पार्टीले पाएको भोटबाट उनीमाथि जनताले केही आशा गरेका छन भन्ने पुष्टि हुन्छ ।
उनले पनि उपप्रधान झुण्ड्याउन लोभ देखाएरै छाडे । लिङ्देन र रविले पदमा लोभ देखाउनु जरुरी थिएन । उनीहरूले त जनताको पक्षमा काम गरेर अहिले जनताले देखाएको विश्वासलाई अझ बलियो बनाउनेतर्फ पो लाग्नु पर्ने हो ।
चित्रबहादुर केसीले भनेजस्तै जनतालाई सजिलो र सहज बनाउने काम आजसम्म कुनै सरकारले गरेको इतिहास छैन । भागबन्डा गर्ने, तानतुन पारेर सरकार टिकाउने उपायमै सरकारले ध्यान दिने गरेको उनले आरोप लगाउने गरेका छन् । उनले बोरामा पैसा बोकेर चुनाव जितेकाले सरकारमा नगइ खर्च उठाउन नसक्ने भएकाले सबै जान खोज्ने गरेको संसद्मै बताएका थिए ।
केसीले भनेजस्तै अहिले पनि सरकार टिकाउन पदहरूको भागबन्डा मात्र भएको हो कि जनताले पनि राहत पाउँछन् भन्ने प्रश्न प्रमुख हो । यसपटक बढी चुनौती उपप्रधानमन्त्री बनेका रवि र राजेन्द्रलाई छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij